दाङ । राप्ती राजमार्ग अन्तर्गत दाङ र सल्यान सडक वर्षाको मौसम सुरु भएलगत्तै यात्रुका लागि पीडादायी बन्दै आएको छ । वर्षा लागेपछि पटक–पटक खस्ने पहिरोका कारण यात्रुले जोखिमपूर्ण यात्रा गर्नु परिरहेको छ ।
आइतबार मात्रै दिनभर पाँच पटक अवरुद्ध बनेको उक्त सडक राति करिब १० बजेतिर मात्रै खुल्न सफल भएको प्रहरीले जनाएको छ । तुलसीपुरतर्फबाट जाँदै गरेको दार्मा गाउँपालिकाको जेसिबी प्रयोग गरी खसेका पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको कपुरकोट प्रहरी चौकीका प्रमुख टंकेश्वर भट्टराईले रेडियो हाम्रो पहुँचलाई बताउनुभयो ।
उहाँका अनुसार हाल सडक सञ्चालनमा आए पनि वर्षा सुरु हुनेबित्तिकै पहिरो खस्ने समस्या यथावत् छ । ‘सडक खुलेको छ तर पानी परेपछि पुनः बन्द हुने सम्भावना रहन्छ ।’ उहाँले भन्नुभयो–‘त्यसैले यात्रुले अत्यावश्यक परेमा मात्र यात्रा गनुहोला ।’
सडक अवरुद्ध हुँदा यात्रु घण्टौँसम्म बाटोमा अल्झिनुपरेको छ । सवारी साधन रोकिने भएपछि बिरामी बोकेका एम्बुलेन्सदेखि सर्वसाधारण यात्रुसम्मलाई ठूलो असुविधा हुने गरेको छ ।















