दाङ । बन तथा कृषि जन्य सामग्रीलाई आधार बनाएर आर्थिक समृद्धि हासिल गर्न सरोकारवालाले चासो देखाएका छन् ।
बन, संघीयता र स्थानीय हरित अर्थतन्त्र विषयक अन्तरप्रदेशीय संवाद कार्यक्रममा सहभागी सरोकारवालाले आर्थिक विकासका लागि स्थानीय स्रोत र उत्पादनलाई प्रयोग गर्नुपर्नेमा जोड दिएका हुन् ।
ग्रिन फाउन्डेसन नेपालका अध्यक्ष घनश्याम पाण्डेले आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपालकै उत्पादनलाई अधिकतम प्रयोग गर्नुपर्ने बताउनुभयो । उहाँले आयातित वस्तुको विकल्पमा नेपाली उत्पादनलाई प्रवद्र्धन गर्न उत्पादन र बजार व्यवस्थापनमा जोड दिनुपर्ने उल्लेख गर्नुभयो । यसका लागि तीनवटै तहका सरकारले आवश्यक नीति तथा ऐन निर्माण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शुक्रराज भण्डारीले सहकारीमार्फत किसानसँग जोडिएर नागरिकको जीवनस्तर सुधार गर्न थालिएको बताउनुभयो । तर, सहकारीले स्थानीय उत्पादनलाई बजारसम्म पुर्याउने धेरै प्रयास गरे पनि ऐन कानुन बाधक बनेको उहाँले गुनासो गर्नुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरका अध्यक्ष लालबहादुर केसीले स्थानीय उत्पादन प्रवद्र्धनका लागि घरेलु तथा साना उद्योग स्थापना गर्न सरकारले प्रोत्साहन दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार दर्ता, नविकरण र कर प्रणालीमा साना उद्यमीलाई सहजता प्रदान गर्न सके स्थानीय उद्योग तथा उत्पादन प्रवद्र्धन हुने छ ।
सामुदायिक बन उपभोक्ता महासंघका उपाध्यक्ष मोहम्मद कर खाँले सामुदायिक बनलाई उद्यम दर्ता सजिलै गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले तीनवटै तहका सरकारबीच सहकार्यभन्दा पनि एकअर्कामाथि आरोप लगाउने प्रवृत्ति रहेको उल्लेख गर्दै दुनाटपरी उद्योग संचालन गर्न सकिने धारणा राख्नुभयो।
ग्रिन फाउन्डेसन नेपाल पर्वतका अध्यक्ष खुम सुवेदीले स्थानीय कच्चापदार्थलाई प्रयोग गरेर रोजगार सिर्जना भइरहेको बताउनुभयो । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका उपाध्यक्ष चक्रमिलन विश्वकर्माले सहकारी सदस्यलाई आत्मनिर्भर बनाउन आयआर्जनमुखी क्रियाकलापमा जोड दिइएको जानकारी दिनुभयो ।

ढकिया महिला उद्यमी शर्मा चौधरीले ढकिया बुनेर आत्मनिर्भर बन्ने प्रयास भइरहेको बताउनुभयो । उहाँले प्लास्टिकजन्य वस्तुको प्रयोग बन्द गर्न सरकारले नीति ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सामुदायिक बन उपभोक्ता महासंघ गण्डकी प्रदेशका अध्यक्ष कालिदास सुवेदीले उपभोक्ता समूहले दुनाटपरी, जैविक मलजस्ता उद्यम संचालन गरे पनि अपेक्षित आम्दानी हुन नसकेको बताउनुभयो । रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले सिप्लीगाँठका बिरुवा बिक्री भइरहेको र ढोरपाटनमा करिब चार करोड राजस्व संकलन भएको जानकारी दिनुभयो ।
तुलसीपुर उपमहानगरपालिकाका मेयर टिकाराम खड्काले बाँस खेतीदेखि बनजन्य कच्चापदार्थ प्रयोग गरी उद्योग संचालन गर्न थालिएको उल्लेख गर्दै तीन तहका सरकारबीच सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।
बागमती प्रदेशसभा सदस्य एवं सामुदायिक बन उपभोक्ता महासंघका पूर्व अध्यक्ष भारती पाठकले नयाँ बन ऐन ल्याउने तयारी भइरहेको जनाउँदै, सरकारी भवन निर्माण गर्दा अनिवार्य रूपमा स्थानीय काठ प्रयोग गर्नुपर्ने नीति रहेको जानकारी दिनुभयो ।
कार्यक्रममा प्रदेश सांसद, स्थानीय सरकारका प्रमुख तथा उपप्रमुख, सहकारी संस्थाका संचालक, महिला तथा पुरुष उद्यमीहरूको सहभागिता रहेको थियो । ग्रिन फाउन्डेसन नेपालको आयोजनामा भएको कार्यक्रम चार सत्रमा विभाजन गरी सञ्चालन गरिएको हो ।















