२०८२ फाल्गुन २६ गते मङ्गलवार

ज्यादती गरेको भन्दै तुलसीपुरका होटल व्यवसायी आक्रोसित

दाङ । प्रहरीले ज्यादती गरेको भन्दै तुलसीपुरका होटल व्यवसायी आक्रोशित भएका छन् । व्यवसाय निर्वाधरुपमा संचालन गर्न नपाएकोमा उनिहरु आक्रोशित भएका हुन् ।

गस्तीमा रहेको प्रहरीले गएराती १० बजे अघि ७ जना होटल संचालक तथा होटेल स्टापलाई हत्कडी लगाएर पक्राउ गरेको भन्दै व्यवसायीहरु श्निबार ईलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेका छन् । प्रहरीले सुरक्षा दिनुपर्ने ठाउँमा व्यवसायीलाई उल्टै डर, धम्की दिएर तर्साएको उनिहरूको आरोप छ ।

तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले प्रहरीले होटल व्यवसायीलाई सुरक्षा दिनुको साटो रातीमा धरपकड गर्दा व्यवसायीको आत्मसम्मानमाथि ठेस पुगेको बताउनुभयो । उहाँले प्रहरीले व्यवसाय गर्ने वातावरण बनाउनुको साटो दुख दिएको भन्दै आपत्ति प्रकट गर्नुभयो ।

होटल व्यवसायी तुफान रेग्मीले ग्राहक रातीमा आउने तर प्रहरीले होटल व्यवसायीलाई पक्राउ गरेर त्रसित बनाएको बताउनुभयो । उहाँले व्यवसाय रातीको नौ बजे नै बन्द गर्नुपर्ने भएमा व्यवसाय नै बन्द गर्ने चेतावनी दिनुभयो । उहाँले रातिमा कम्तीमा पनि ११ बजेसम्म व्यवसाय संचालन गर्न पाउनुपर्ने बताउनुभयो । होटल व्यवसायीलाई प्रहरीले ध्यानाकर्षणपत्र समेत बुझाएको छ ।

होटल व्यवसायी समितिका सचिव डिल बहादुर भण्डारीले इलाका प्रहरी कार्यालय तुलसीपुरका वरिष्ठ सइ मिलन श्रेष्ठलाई ध्यानाकर्षण पत्र बुझाउनुभएको हो । ध्यानार्कषण पत्रमा व्यवसाय राती ११ बजेसम्म व्यवसाय संचालन गर्ने, स्वतन्त्रतापूर्वक व्यवसाय गर्न पाउनुपर्ने, सुरक्षाको अनुभूति गराउने प्रहरीले असुरक्षाको व्यवहार देखाउन नहुने उल्लेख छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले राती नौ बजसम्ममात्रै व्यवसाय संचालन गर्नुपर्ने भएपनि गएराती अवेरसम्म व्यवसाय संचालन गरेको देखिएपछि पक्राउ गरिएको बताउनुभयो । उहाँले जिल्ला सुरक्षा समितिले राती ११ बजेसम्म अनुमति दिएमा प्रहरीले सुरक्षा दिन तयार रहेको बताउनुभयो ।

यसैबिच होटल व्यवसायीले आइतबार बिहान तुलसीपुर उपमहानगरपालिका, स्थानीय प्रशासनलाई व्यवसाय संचालनको समय थप गर्नुपर्ने मागसहित ज्ञापनपत्र बुझाउने अध्यक्ष बस्नेतले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस