दाङ । तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ती शान्ति उद्यान र श्रीगणेश सामुदायिक बनको नयाँ नेतृत्व चयनका लागि मतदान सम्पन्न भएको छ ।
पार्क र बन समुहको निर्वाचनका ४७४ जना मतदाता रहेकोमा ४५३ मत खसेको निर्वाचन समितिका संयोजक लेबेन्द्र केसीले जानकारी दिनुभयो । २१ जना मतदाताले मतदान गर्न नआएको संयोजक केसीले बताउनुभयो ।
राप्ती शान्ति उद्यानको मन्दिर परिसरमा बिहान सवा ८ बजेदेखि शुरु मतदान बेलुका ४ बजेसम्म सम्पन्न भएको हो ।
आज नै मतगणना हुने संयोजक केसीले बताउनुभयो । अहिले मतगणनाको लागि नियम बनाइ रहेको र नियम बनेपछि मतगणना सुरु हुने उहाँले जानकारी दिनुभयो ।
राप्ती शान्ति उद्यान गणेशपुर पार्कको अध्यक्ष पदका लागि दुई जना प्रतिष्पर्धामा छन् भने श्रीगणेश सामुदायिक बन समुहको अध्यक्षका लागि तीन जना प्रतिष्पर्धामा रहेका छन् ।
उद्यानको अध्यक्षका लागि खेतुप्रसाद भण्डारी र सुधिर केसी प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै कोषाध्यक्षका लागि तीन जना प्रतिष्पर्धामा छन् । पार्कको कोषाध्यक्षका लागि बोधप्रसाद खनाल, डुण्डमान पराजुली र दण्डबहादुर मल्ल प्रतिष्पर्धामा रहनुभएको छ ।
यस्तै खुल्ला तीन सदस्यका लागि तिलकराम भण्डारी,बिष्णुप्रसाद भण्डारी, कमल भण्डारी, ताराप्रसाद भण्डारी, शालिकराम भण्डारी, भागिरथ भण्डारी, रुद्रमणी भुषाल र नेत्रमणीप्रसाद पोखरेल प्रतिष्पर्धामा रहनुभएको छ ।
यस्तै महिला सदस्यका लागि जलपादेवी दमाई, तेजु रावत, खिरमी बुढाथोकी, बोलकुमारी भण्डारी र दुर्पता केसी वली प्रतिष्पर्धामा रहनुभएको छ । पार्कको सचिवमा भने माया रिजाल निर्विरोध चयन भइसक्नुभएको छ ।
यस्तै बन समुहको अध्यक्षका लागि लोकमणी पोखरेल, लिलाधर विश्वकर्मा र डिल्लीराज भण्डारी प्रतिष्पर्धामा रहनुभएको छ । बन समुहको उपाध्यक्षमा इश्वरा महतारा निर्विरोध चयन हुनुभएको छ । यस्तै सचिवमा पार्वती बुढामगर, खुमलाल पोख्रेल र तुलसीराम भण्डारी प्रतिष्पर्धामा रहनुभएको छ । यस्तै कोषाध्यक्ष पदका लागि प्रतिभा भण्डारी, दुर्गा शर्मा वली, सहसचिव पदका लागि माधव गिरी र गिरीराज भण्डारी प्रतिष्पर्धामा रहनुभएको छ ।












