दाङ । लुम्बिनी प्रदेशमा ११ हजार बढीमा दृष्टिबिहिनता रहेको देखिएको छ । नेपाल नेत्रज्योति संघको आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्जका अनुसार प्रदेशमा ११ हजार २ सय ७३ जना दृष्टिबिहिनको अवस्था रहेको देखिएको हो ।
प्रदेशका १२ जिल्लामध्ये सबैभन्दा बढी दृष्टिबिहिनताको अवस्था रुपन्देहीमा देखिएको छ भने सबैभन्दा कम रुकुम पूर्वमा देखिएको छ । रुपन्देहीमा २ हजार ४६२ जना दृष्टिबिहिन रहेका छन् भने रुकुम पूर्वमा १२८ जना दृष्टिबिहिन रहेका छन् ।
वरिष्ठ प्रशासकीय अधिकृत जसराज विश्वकर्माका अनुसार प्रदेश राजधानी दाङमा १ हजार ४८८, कपिलवस्तुमा १ हजार ५११, बाँकेमा १ हजार ३२७, बर्दियामा १ हजार १४, नवलपरासी पश्चिममा ८४८, रोल्पामा ५२०, पाल्पामा ५३३, गुल्मीमा ५४३, अर्घाखाँचीमा ३९० र प्युठानमा ५२० जनामा दृष्टिबिहिनताको अवस्था रहेको छ ।

नेपाल नेत्रज्योति संघले सोमबार घोराहीमा गरेको पत्रकार भेट्घाट कार्यक्रममा वरिष्ठ प्रशासकिय अधिकृत विश्वकर्माले प्रदेशमा २३ हजार ५७१ जनामा मोतियाविन्दुको समस्या रहेको बताउनुभयो । आर्थिक अभाव, अस्पतालको पहुँच टाढा हुनु, आवश्यकता महशुस कम लगायतका कारणले आँखाको उपचार नगरेको देखिएको उहाँको भनाई छ ।
उहाँका अनुसार ४२ प्रतिशत बिरामीले आवश्यकताको महशुस नगरेर अस्पतालसम्म नआएको देखिएको छ । यस्तै ३६ प्रतिशत बिरामीले आर्थिक अभाव, २० प्रतिशत बिरामी अस्पतालको पहुँच नभएर र ३ प्रतिशत बिरामीले आँखाको उपचार नगरेको उहाँले बताउनुभयो ।
आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जका प्रमुख प्रशासक डा.शम्सेर थापाले दृष्टिबिहिनलाई घटाउन समयमै बिरामी उपचारको पहुँचमा आउनुपर्ने बताउनुभयो । उहाँले समग्र लुम्बिनी प्रदेशमा आँखाको उपचार सेवादेखि आँखा उपचार गर्ने जनशक्ति उत्पादनमा नेत्रज्योति संघले काम गरिहेको बताउनुभयो ।
उहाँले नाक,कान, घाँटीको उपचार सेवा दिदै आएको लमही अस्पताललाई केही समयभित्र थप सुविधासम्पन्न सेवा दिने, अस्पतालकै रूपमा विकास गर्ने बताउनुभयो । उहाँले संघले आँखा विषेशज्ञ डाक्टर बनाउने शैक्षिक अनुमति प्राप्त गरेको समेत बताउनुभयो ।
यसैबिच नेपाल नेत्रज्योति संघ, आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगञ्जले ३९ वर्षको अवधिमा २ लाख ५८ हजार १४ जनाको मोतियाबिन्दुको उपचार गरेको छ । यस्तै स्थापना भएदेखि हालसम्म ४२ लाख ६७ हजार ४०७ जनालाई आँखा उपचार सेवा प्रदान गरिएको छ ।
संघले संचालन गरेका अस्पतालमा सामान्य आँखा जाँचदेखि जटिल मानिने मोतिविन्दुको ‘फेको’ शल्यक्रिया, जलविन्दु र आँखाको पर्दा अर्थात् रेटिनाको उपचार समेत सहज बनेको छ । अस्पतालमा दाङ र कपिलवस्तुका मात्र नभई छिमेकी जिल्लाहरू रोल्पा, प्युठान, सल्यान, बाँके र सीमावर्ती भारतीय सहरहरूबाट समेत बिरामीहरू उपचारका लागि आउने गरेका छन् ।
अस्पतालले गरिब तथा विपन्न नागरिकका लागि विभिन्न दातृ निकायको सहयोगमा निःशुल्क शल्यक्रिया शिविर समेत सञ्चालन गर्दै आएको छ । जसका कारण आर्थिक अभावमा कोही पनि दृष्टिविहीन बन्नु नपर्ने वातावरण सिर्जना भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार गिरीले राप्ती आँखा अस्पताल (दाङ) र छन्द कालेबाबु–नारायणी आँखा अस्पताल (बहादुरगञ्ज) आँखा उपचार सेवामा उत्कृष्ट केन्द्रका रूपमा स्थापित हुँदै गएको बताउनुभयो ।
नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीले नेत्रज्योति संघले संचालन गरेका अस्पतालले आँखाको उपचारमा विश्वसनियता बढाउँदै लगेको बताउनुभयो । नेपाल नेत्रज्योति संघ दाङ शाखा सचिव घनश्याम सुवेदीको स्वागत मन्तव्यबाट शुरू भएको कार्यक्रमको सहजीकरण सुचना अधिकारी बालाराम खड्काले गर्नुभएको हो ।















