२०८२ फाल्गुन २६ गते मङ्गलवार

तुलसीपुरमा बालबालिकाका लागि ‘संस्कार शिक्षा’ सुरु

दाङ। तुलसीपुरमा रहेको मनकामना ज्योतिष तथा वास्तु परामर्श केन्द्रले बालबालिकाहरूमा सनातन वैदिक परम्परा, अनुशासन र नैतिक मूल्यमान्यता विकास गर्ने उद्देश्यले ‘संस्कार शिक्षा’ सञ्चालनमा ल्याएको छ ।

आधुनिक शिक्षासँगै हराउँदै गएको संस्कार र व्यवहारिक ज्ञानलाई पुनर्जागरण गर्न यो अभियान थालिएको ज्योतिषाचार्य माधवा शर्मा पोखरेलले बताउनुभयो । बालबालिकालाई आफ्ना कर्तव्य र दायित्वप्रति बोध गराउनु नै संस्कार शिक्षाको मुख्य पाटो रहेको उहाँले बताउनुभयो । उहाँका अनुसार कक्षा सिलिकन एजुकेशनमा संचालन हुने छ ।

शुक्रबार उद्घाटन कार्यक्रममा बोल्दै नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक डा. अर्जुनप्रसाद भट्टराईले मानिसको जीवनमा नैतिक शिक्षाले नै वास्तविक मार्गदर्शन गर्ने बताउनुभयो ।

उहाँले जन्मँदा मानिसमा स्वभाविक रूपमा केही कमजोरी वा कुसंस्कार हुनसक्ने भए पनि शिक्षा र संस्कारकै माध्यमबाट उसलाई सभ्य र सामाजिक नागरिक बनाउन सकिने धारणा राख्नुभयो ।

त्यसैगरी, नेपाल संस्कृत विश्वविद्यालयकै अर्का प्राध्यापक निलप्रसाद सापकोटाले शिक्षासँगै संस्कार अपरिहार्य रहेको उल्लेख गर्नुभयो । उहाँले अनुशासन र नैतिकता बिनाको शिक्षा ‘बालुवामा हालेको पानी’ जस्तै व्यर्थ हुने बताउँदै वर्तमान शिक्षा प्रणालीमा संस्कारको कमी खड्किएको औंल्याउनुभयो ।

कार्यक्रममा मानवअधिकारकर्मी सुशील बस्नेतले संस्कारयुक्त शिक्षाले नै समाजलाई सही दिशामा लैजाने विश्वास व्यक्त गर्नुभयो । उपप्राध्यापक बसन्ता शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा बालबालिकालाई आफ्नो मौलिक संस्कृतिसँग जोड्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । केन्द्रले सञ्चालन गरेको यो शिक्षाले बालबालिकामा सकारात्मक सोँच र सभ्य आचरणको विकास गर्नेमा उहाँले बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस