दाङ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले इटालीलाई १२४ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले १९ ओभर ३ बलमा सबै विकेट गुमाएर १२३ रन बनायो । नेपालका आरिफ शेखले २७, कप्तान रोहित पौडेलले २३, आसिफ शेखले २०, करण केसीले नटआउट १८ रन बनाउनुभयो । इटालीका क्रिशन कालुगामेजले ३ विकेट लिनुभयो ।
आजको खेलमा नेपालका ललित राजवंशीले टी–२० विश्वकपमा डेब्यु गर्नुभएको छ । उहाँ शेर मल्लको ठाउँमा टोलीमा पर्नुभएको हो । प्रतियोगितामा नेपालको यो दोस्रो खेल हो । पहिलो खेलमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो । यस्तै इटाली पहिलो खेलमा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो । समूह ‘सी’ मा नेपाल चौथो र इटाली पुछारमा छन् ।

टी–२० विश्वकपमा आज भएको पहिलो खेलमा ओमानलाई १०५ रनले हराउँदै श्रीलङ्काले लगातार दोस्रो जीत हासिल गरेको छ । आजै तेस्रो खेलमा बेलुकी सवा ७ बजे भारत र नामिबिया खेल्दैछन् ।
प्रतियोगितामा २० वटा टोली चार वटा समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली ‘सुपर–एट’ मा पुग्नेछन् । ‘सुपर–एट’ मा चार–चार वटा टोली दुई समूहमा बाँडिनेछन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।














