दाङ । आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपालले वेस्ट इन्डिजलाई १३४ रनको लक्ष्य दिएको छ ।
भारतको मुम्बईमा रहेको वानखेडे स्टेडियममा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३३ रन बनायो । नेपालका दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाउनुभयो । दीपेन्द्र ४७ बलमा ५८ रन बनाएर आउट हुनुभयो । यस्तै सोमपालले नटआउट २६ रन बनाउनुभयो । विश्वकपमा नेपाली खेलाडीको यो पहिलो अर्धशतक हो । वेस्ट इन्डिजका जोसन होल्डरले ४ विकेट लिनुभयो ।

नेपाल खेलाडीले १२ वर्षपछि टी–२० विश्वकपमा अर्धशतक प्रहार गर्नुभएको हो । यसअघि सन् २०१४ मा नेपालका सुवास खकुरेलले अफगानिस्तानसँगको खेलमा अर्धशतक बनाउनुभएको थियो ।

प्रतियोगितामा नेपालको यो तेस्रो खेल हो । नेपाल पहिलो खेलमा इङ्ग्ल्यान्डसँग ४ रन र दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो । ‘सुपर–एट’ मा पुग्ने झिनो सम्भावना कायमै राख्न नेपाललाई यो खेल जित्नैपर्ने दबाव छ ।














