२०८३ बैशाख ४ गते शुक्रवार

तुलसीपुर–२ मा वडा अध्यक्ष कप सुरु

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा वडा अध्यक्ष कप खेलकुद प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ ।

वडा नम्बर २ को आयोजनामा मावि वालापुरको प्राङ्गणमा प्रतियोगिता सुरु भएको छ । वडा अध्यक्ष भिम बहादुर योगीको अध्यक्षता तथा नगर प्रमुख टिकाराम खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम उद्घाटन गरिएको हो ।

उद्घाटन कार्यक्रममा नगर प्रमुख खड्काले नयाँ पुस्तामा खेलप्रतिको रुचि बढाउन, स्वास्थ्य र शारीरिक स्फूर्तिका लागि स्थानीय सरकारले खेलकुदलाई प्राथमिकतामा राख्दै आएको बताउनुभयो ।

उहाँले हरेक वडामा वडा अध्यक्ष कप प्रतियोगिता सञ्चालन गर्ने नीति अनुसार कार्यक्रम अघि बढाइएको जानकारी दिनुभयो । खेलकुद प्रतियोगिता स्वस्थ समाज निर्माणको महत्वपूर्ण आधार भएको उहाँको भनाइ थियो ।

वैशाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा पुरुष भलिवल, महिला घैँटा फोड र महिला दौड प्रतियोगिता सञ्चालन हुने खेल समिति संयोजक तथा वडा सदस्य मोहनलाल डाँगीले जानकारी दिनुभयो ।

वडा सचिव सन्तोष न्यौपानेका अनुसार पुरुष भलिवलतर्फ ८ टोल विकास संस्था र घैँटा फोडतर्फ ११ टोल समूह सहभागी रहेका छन्। भलिवलतर्फ प्रथम हुने समूहले नगद १५ हजार ५ सय, प्रमाणपत्र र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुनेले नगद १३ हजार ५ सय र तेस्रो हुनेले नगद १० हजारसहित प्रमाणपत्र र मेडल प्राप्त गर्नेछन्।

यस्तै महिला दौडतर्फ प्रथम र द्वितीय हुने खेलाडीलाई क्रमशः नगद ५ हजार र ४ हजारसहित प्रमाणपत्र प्रदान गर्ने जानकारी दिनुभयो। घैँटा फोड प्रतियोगितामा प्रथम हुने खेलाडीले नगद २ हजार ५ सय र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

कार्यक्रम खेल समिति संयोजक मोहनलाल डाँगीको स्वागत मन्तव्यबाट सुरु भएको थियो। उद्घाटन कार्यक्रमको समापनमा धन्यवाद ज्ञापन गर्दे वडा अध्यक्ष भिम बहादुर योगीले खेलकुद क्षेत्रको वृहत्तर विकासका लागि वडाले विगतदेखि नै प्रत्येक वर्ष यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो ।

भौतिक पूर्वाधार मात्र विकास नभई खेलकुदले सामाजिक स्वास्थ्यमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने उहाँको भनाइ थियो । आजको उद्घाटन खेल कमलपोखरी टोल विकास संस्था र नमुना टोल विकास संस्थाबीच प्रतिस्पर्धा हुनेछ । उद्घाटन कार्यक्रमको सहजीकरण खेल व्यवस्थापक ओद बहादुर भण्डारीले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस