२०८२ जेष्ठ ८ गते बिहिवार

दाङबाट १४ हजार बढी विद्यार्थी एसइईमा सहभागी हुँदै


दाङ, ७ चैत । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि शुरू हुँदैछ । बिहान ८ बजेदेखि देशभरका दुई हजार ७९ परीक्षा केन्द्रबाट एकैसाथ परीक्षा शुरू हुन लागेको हो । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले ढुक्क र निर्धक्क भएर परीक्षामा सहभागी हुन विद्यार्थीहरुलाई आग्रह गरेको छ ।

आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा हुँदै छ । यस वर्षको एसईईमा पाँच लाख १४ हजार ७१ जना परीक्षार्थी सहभागी हुँदैछन् । दाङमा यो वर्ष ४७ वटा परीक्षा केन्द्रबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइईमा सहभागी हुँदै छन् ।

जिल्लामा एक सय १२ सामुदायिक र एक सय ४१ संस्थागत विद्यालय गरी दुई सय ५३ वटा विद्यालयबाट १४ हजार दुई सय ५४ जना विद्यार्थीले एसइई दिन लागेको शिक्षा विकास तथा समन्वय इकाइका शाखा अधिकृत तिलकराम बञ्जाडेले जानकारी दिनुभयो । जसमा प्राविधिक धारतर्फ ११ र एउटा खुल्ला विद्यालय रहेको कार्यालयले जनाएको छ ।

जिल्लामा यो वर्ष एसइई दिनेमा छात्रभन्दा सात सय २२ जना बढी छात्रा छन् । शिक्षा विकास तथा समन्वय इकाइ दाङका अनुसार छ हजार सात सय ६६ छात्र र सात हजार चार सय ८८ जना छात्राले एसइइ दिन थालेका छन् । शाखा अधिकृत बञ्जाडेका अनुसार गत वर्ष जिल्लामा १२ हजार आठ सय ९८ जना विद्यार्थी एसइई परीक्षामा सहभागी भएका थिए ।

जिल्लामा नियमितर्फ पाँच हजार सात सय ६३ छात्र र छ हजार एक सय ३३ जना छात्रा गरी ११ हजार आठ सय ९६ जना, गे्रट वृद्धितर्फ छात्र एक हजार १९ जना र छात्रा एक हजार तीन सय ७३ जना गरी दुई हजार तीन सय ९२ जना रहेका छन् । जिल्लामा यस वर्ष पाँच जना दृष्टिविहीन विद्यार्थीले एसइई दिन दिने भएका छन् ।

जसमा तुलसीपुरमा रहेको स्रोत कक्षा गुरु जजुर माध्यमिक विद्यालयबाट तीनजना छात्र र एक जना छात्रा गरेर चार जना र आदर्श माध्यमिक विद्यालय लालमटियाबाट एक जना छात्रले एसइई दिन थालेको शिक्षा विकास तथा समन्वय एकाइ कार्यालयले जनाएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले एसईईको नतिजा आउँदो असार ७ गतेभित्र निकाल्ने जनाएको छ । राष्ट्रिय परीक्षा बोर्डले गएको वर्षदेखि न्यूनतम ३५ प्रतिशतभन्दा कम प्राप्ताङ्क ल्याउने विद्यार्थीहरू अनुत्तीर्ण हुने व्यवस्था लागू गरेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस