दाङ । दाङको तुलसीपुर–७ झुमरेस्थित हाम्रो पहुँच सेकेन्डरी स्कुलले सोमबार कक्षा ४ का विद्यार्थीका अभिभावकसँग भेला तथा छलफल कार्यक्रम गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीको पढाइ–लेखाइ, सरसफाइ र अनुशासन सुधार गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रममा हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक भण्डारीले बालबालिकालाई अरूसँग तुलना गर्न नहुने बताउनुभयो ।
हातका औँलासमेत समान नहुने उदाहरण दिँदै उहाँले सबै बालबालिकाको क्षमता फरक–फरक हुने भएकाले उनीहरूको रुचि र क्षमताअनुसार प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो ।
बालबालिकाको पढाइमा सुधार ल्याउन विद्यालयको प्रयाससँगै घरमा अभिभावकको चासो र सहयोग पनि उत्तिकै महत्त्वपूर्ण हुने उहाँको भनाइ छ ।
विद्यालयका प्रधानाध्यापक शिव पुनले बालबालिकाको सिकाइ सुधार गर्न र उनीहरूको क्षमता पहिचान गर्न विद्यालय र अभिभावकबीच नियमित छलफल आवश्यक रहेको बताउनुभयो । विद्यालय र अभिभावकबीच नियमित संवाद हुन सके बालबालिकाका समस्या समयमै पहिचान गरी समाधान गर्न सकिने प्रधानाध्यापक पुनले बताउनुभयो ।
कार्यक्रममा विद्यार्थीको शैक्षिक अवस्था, व्यवहार र अनुशासनका विषयमा छलफल गरिएको हो ।


























