
दाङ, १४ चैत्र । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल विद्युत प्राधिकरणमा कुलमान घिसिङले राम्रो काम गरेको बताउनुभएको छ ।
घिसिङले राम्रो काम गरिरहेकोले पूरा अवधि काम गर्न दिनुपर्ने उहाँको भनाई छ । रिपोर्टर्स क्लब नेपाल दाङ शाखाले आज (बिहीबार) विहान घोराहीमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उहाँले आफू सरकारको नेतृत्वमा भएको भए कुलमानलाई पूरा अवधि काम गर्न दिने बताउनुभयो ।
उहाँले संस्थान, प्राधिकरण जस्ता राज्यका अर्धस्वायत्त अंगहरुमा दलीय हस्तक्षेप र नियन्त्रण चरम रुपमा भइरहेकोसमेत बताउनुभयो । उहाँले मिश्रित निर्वाचन प्रणालीले नै अहिलेको राजनीतिक संरचनामा समस्या निम्त्याएको भन्दै प्रत्यक्ष निर्वाचित कार्यकारी नभएसम्म यस्तो अस्थिरता आइरहने दाबी गर्नुभयो । अस्थिरताले समस्याको समाधान हुनुको साटो झनै समस्या थपिने उहाँको भनाई छ ।
उहाँले जतिसक्दो छिटो राष्टिय सहमति बनाएर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीमा र प्रत्यक्ष निर्वाचित मुख्यमन्त्री हुनुपर्नेमा जोड दिनुभयो । यसैबिच उहाँले नेपालमा राजतन्त्र भूत भइसकेकोले पछाडि फर्केर समस्याको हल नहुनेसमेत दाबी गर्नुभयो ।
नेपाली जनताले ठूलो बलिदानी गरेर राजसंस्था नेपालबाट हटाएकोले त्यसलाई फिर्ता गर्ने मुर्खता हुने उहाँको टिप्पणी छ । लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकोले संघीय लोकतान्त्रिक गणतन्त्रलाई रक्षा गरेर जानुपर्नेमा उहाँले जोड दिनुभयो । रिपोटर्स क्लबका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको साक्षात्कार कार्यक्रमको सहजिकरण पत्रकार सन्तोष केसिले गर्नुभएको थियो ।