दाङ । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्कराज साम्पाङले टरीगाउँ विमानस्थलको विकासका लागि संसदमा आवाज उठाउने प्रतिबद्धता जनाउनुभएको छ ।
आज बिहान तुलसीपुर उपमहानगरपालिका–१२ मा रहेको टरिगाउँ विमानस्थलको स्थलगत अवलोकन गर्दै उहाँले विमानस्थलको विकासका लागि पर्यटनमन्त्रीसँग समन्वय गर्ने बताउनुभएको हो ।
श्रमदातासँग भेटघाट तथा दाङका समस्या बुझ्न दाङ आउनुभएका साम्पाङले विमानस्थलको विकासलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएको पार्टीका लुम्बिनी प्रदेश सहसचिव टोपबहादुर महताराले जानकारी दिनुभयो ।
यसअघि साम्पाङले तुलसीपुरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा सहभागी हुँदै श्रमको सम्मान र उत्पादनमार्फत आत्मनिर्भर बन्नुपर्नेमा जोड दिनुभएको थियो । उहाँको उपस्थितिमा एक सयभन्दा बढी कार्यकर्ता पार्टी प्रवेश गरेका छन् ।
यसअघि उहाँले हिजो लमहीमा पार्टी प्रवेश कार्यक्रम तथा प्रदेश समितिसँग भेटघाट गर्नुभएको थियो । त्यसपछि घोराहीमा श्रम संस्कृति पार्टीको एकता युवा क्लबले आयोजना गरेको फुटबल खेल कार्यक्रममा सहभागी हुनुभएको थियो ।
दाङका विभिन्न कार्यक्रम सकेर साम्पाङ आज बर्दिया गएको प्रदेश सहसचिव महताराले जानकारी दिनुभयो ।



























