२०८२ जेष्ठ ८ गते बिहिवार

बालबालिकालाई असल संस्कार घरबाटै दिनुपर्नेमा जोड


दाङ । बालबालिकालाई असल र नैतिकवान बनाउन अभिभावकले नै असल संस्कार दिनुपर्ने सरोकारवालाले जोड दिएका छन् । तुलसीपुर–१६ मजगाउँ टोलमा आइतबार भएको सुनौलो भविष्य नामक कार्यक्रममा सहभागी सरोकारवालाले घरपरिवारबाटै असल सस्कारको विकास गरी बालबालिकाको भविष्य सुन्दर र सभ्य समाजको निर्माण गर्न सकिने बताएका छन् ।

दाङ भ्याली मावि तुलसीपुर अध्यक्ष तिलक शाहुले अभिभावकको असल संस्कारले मात्रै विद्यालयले असल जनशक्ति उत्पादन गर्न सक्ने बताउनुभयो । उहाँले असल जनशक्ति उत्पादनमा विद्यालय एक्लैले गरेको प्रयास संभव नहुने भन्दै घर परिवारले पनि बालबालिकाका लागि विषेश समय दिनुपर्ने बताउनुभयो ।

उहाँले पछिल्लो समय बालबालिकामाथि अभिभावकको निगरानी नहुँदा गलत क्रियाकलापमा संलग्न हुन थालेकाले विद्यालय र घर परिवार यसतर्फ चनाखो बन्नुपर्ने बताउनुभयो । उहाँले मोबाइलको लतबाट बालबालिका जोगाउने मूख्य चुनौतिको रुपमा देखिन थालेकाले मोबाइल चलाउने निश्चित समय आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा निवृत्त शिक्षक हुतराज गौतमले घर परिवारकै संस्कारले बालबालिकाको भविष्य निर्धारण हुने बताउनुभयो । उहाँले बालबालिकाले विद्यालयबाट शिक्षा प्राप्त गरेपनि संस्कारयुक्त नभएमा भविष्य सुन्दर बनाउन नसक्ने बताउनुभयो ।

यस्तै तुलसीपुर–१६ मजगाउँ टोल विकास संस्थाका अध्यक्ष महाविर वलीले लागूऔषध दुर्व्यसनबाट बालबालिकालाई टाढा राख्न घर परिवार र समाजले नेतृत्वदायि भूमिका खेल्नुपर्ने बताउनुभयो ।

यस्तै महतवा कालुराम चौधरीले सुन्दर समाज निर्माणका लागि सबैको भूमिका सक्रिय हुनुपर्ने बताउनुभयो । यस्तै उपाध्यक्ष जयसुद्रा चौधरीले बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि अभिभावक सचेत हुनुपर्ने बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस