
दाङ । लुम्बिनी प्रदेशका १४ अस्पतालको समस्या पहिचान गर्न पूर्वमन्त्री र विज्ञ टोली जिल्ला जिल्लामा पुगेको छ ।
रुकुम पूर्व, गुल्मी, पाल्पालगायतका जिल्लामा टोलीले सुझाव लिएको छ भने सबै जिल्लाका अस्पतालका साथै प्रादेशिक अस्पतालको सेवाको गुणस्तर, आत्मनिर्भरताका लागि सुझाव संकलन गरिने कार्यदलका संयोजक पूर्वस्वास्थ्यमन्त्री विष्णु पन्थीले बतायनुभयो ।
लुम्बिनी प्रदेशका सबै अस्पतालबाट प्रवाह हुने सेवाको गुणस्तर सुधार तथा आत्मनिर्भरताका लागि सरोकारवाला निकायसँगको भेटघाट, अन्तरक्रिया, अस्पतालको अवलोकन गरिने उहाँले बताउनुभयो । गठित कार्यदलले पाल्पा अस्पतालको सेवा प्रवाहका साथै गुणस्तर सुधारका लागि सुझाव लिएको छ ।
टोलीमा पूर्वमन्त्री पन्थीसँगै पूर्वमन्त्रीहरू राजु खनाल, दीपेन्द्र पुन, स्वास्थ्य विज्ञ विनोद गिरी, स्वास्थ्य मन्त्रालयका नर्सिङ प्रशासक ईश्वरी केसी लगायतको टोलीले सरकारी अस्पताललाई कसरी आत्मनिर्भर गराउन सकिन्छ भन्ने विषयमा सुझाव गदै हिड्नुभएको छ ।
टोलीका सदस्य पूर्वमन्त्री खनालले प्राप्त सुझावलाई लुम्बिनी प्रदेश सरकारसमक्ष पेस गरिने बताउनुभयो । प्राप्त सुझावले अस्पताललाई गुणस्तरीय बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ । १२ वटै जिल्लाका १४ वटा अस्पतालमा पुगेर समितिका पदाधिकारी, कर्मचारी, राजनीतिक दल, नागरिक समाजसँग सुझाव संकलन गरिने पूर्वमन्त्री दीपेन्द पुनले बताउनुभयो ।