सल्यान, सल्यानमा ट्याक्टर दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घाइते हुनेमा बन्गाड कुपिण्डे नगरपालिका–८ का ट्याक्टर चालक २८ वर्षीय वीरबहादुर कुँवर, २० वर्षीय उरन बीसी, २७ वर्षका ललित कुँवर र १३ वर्षीय हेमराज कुँवर रहेको प्रहरीले जनाएको छ ।
ट्याक्टर चालक कुँवर र ललित कुँवरको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले बताउनुभयो । घाइते सबैलाई तत्काल उद्धार गरी स्थानीय मेडिकलमा सामान्य उपचार पछि थप उपचारको लागी नेपालगन्ज लगिएको प्रहरी निरीक्षक बस्नेतले जानकारी दिनुभयो ।
सल्यानको बन्गाड कुपिण्डे नगरपालिका–८ बाबियाचौरस्थित कुपिण्डेतालबाट परिगाउँतर्फ जाँदै गरेको रा १ त २८२१ नम्बरको ट्याक्टर सोमबार राति दुर्घटना भएको थियो । ट्याक्टर अनियन्त्रित भएर सडकदेखि ५० मिटर तल खसेको प्रहरीले जनाएको छ ।













