२०८३ कार्तिक २० गते शुक्रवार

सडक सुरक्षा र दुर्व्यसन न्यूनीकरणमा जोड


तुलसीपुर । तुलसीपुरमा सडक सुरक्षा, ट्राफिक नियम, लागू पदार्थ दुर्व्यसन तथा मादक पदार्थ सेवनबाट हुने असरबारे सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।

राप्ती परोपकार सङ्घ नेपाल तुलसीपुरको आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ५ को आर्थिक सहयोगमा कार्यक्रम गरिएको हो।

सङ्घका अध्यक्ष सञ्जयकुमार पराजुलीको अध्यक्षता तथा वडा नम्बर ५ का अध्यक्ष वीरेन्द्रकुमार शाहको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा तुलसीपुर क्षेत्रका आठवटा विद्यालयका तीन सयभन्दा बढी विद्यार्थी, यातायात व्यवसायी, चालक तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि शाहले सडक सुरक्षा र लागू पदार्थ दुर्व्यसन नियन्त्रणका लागि विद्यार्थी तथा युवालाई लक्षित गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले ट्राफिक नियमको पालना र मादक पदार्थ सेवन गरेर सवारी नचलाउने विषयमा सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो।

त्यस्तै, त्रिसिद्धेश्वरी राप्ती यातायात प्रालीका अध्यक्ष सुरेश हमाल, टेक्टर व्यवसायी समिति दाङका उपाध्यक्ष दोर्ण देवकोटा ,लुम्बिनी स्माट स्कुलका अध्यक्ष माेहाेन स्वर्णकार ,सहायता केन्द्र नेपालका अध्यक्ष खेमराज विक लगाएतले सवारी दुर्घटना न्यूनीकरणका लागि चालक, यातायात व्यवसायी र यात्रु सबै सचेत हुनुपर्नेमा जोड दिनुभयो।

उहाँहरूले लागू पदार्थ दुर्व्यसन र मादक पदार्थ सेवनले व्यक्ति, परिवार तथा समाजमा पार्ने नकारात्मक असरबारे चर्चा गर्दै यसको नियन्त्रणका लागि सामूहिक पहल आवश्यक रहेको बताउनुभयो।

प्रशिक्षणका क्रममा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी होमबहादुर पराजुलीले लागू पदार्थ दुर्व्यसनले व्यक्तिको स्वास्थ्य, व्यवहार, पारिवारिक सम्बन्ध र सामाजिक जीवनमा गम्भीर असर पार्ने बताउनुभयो। उहाँले विशेषगरी विद्यार्थी तथा युवाहरू दुर्व्यसनबाट टाढा रहनुपर्ने र यसको जोखिमबारे समयमै सचेत हुनुपर्नेमा जोड दिनुभयो।

त्यस्तै, ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख सम्भु धितालले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पूर्ण पालना गर्नुपर्ने बताउनुभयो। उहाँले तीव्र गति, लापरबाही, मादक पदार्थ सेवन गरेर सवारी चलाउने प्रवृत्ति तथा सडक अनुशासनको कमी दुर्घटनाका जोखिम बढाउने कारण भएकाले चालकले विशेष सावधानी अपनाउनुपर्ने बताउनुभयो।

सङ्घका उपाध्यक्ष गोरखबहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक ओदबहादुर भण्डारी (गणेश) ले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस