२०८३ कार्तिक २२ गते आइतवार

बिदा सुरु भएसँगै तिहार मनाउन गाउँ फर्किनेको लर्को

दाङ। तिहार पर्व मनाउन आफ्नो घरगाउँ फर्किनेको चहलपहल बढेको छ । तिहारका अवसरमा आजदेखि सरकारी बिदा सुरु भएसँगै रोजगारी, अध्ययन तथा विभिन्न कामको सिलसिलामा घरबाहिर रहेका नागरिकहरु आफ्नो गाउँघर फर्किन थालेका छन् ।

तिहार मनाउन घर फर्किने यात्रुको संख्या बढेसँगै दाङका मुख्य बजार, बसपार्क तथा सार्वजनिक यातायातका साधनमा यात्रुको चाप बढेको छ । विशेषगरी तुलसीपुर, घोराही, लमही, नारायणपुर र भालुवाङलगायतका क्षेत्रबाट आफ्नो घरगाउँ जाने यात्रुको आवागमन बढेको हो ।

वर्षभरि परिवारबाट टाढा रहेर विभिन्न पेसा, व्यवसाय तथा अध्ययनमा व्यस्त रहनेहरू चाडपर्वको अवसर पारेर परिवारसँग खुसी साट्न घर फर्किने गरेका छन् । तिहार दाजुभाइ तथा दिदीबहिनीबीचको आत्मीयता र पारिवारिक सम्बन्धलाई थप प्रगाढ बनाउने पर्व भएकाले पनि यस अवसरमा घर फर्किनेको विशेष चहलपहल देखिने गरेको छ ।

सरकारी बिदा सुरु भएसँगै अब केही दिन बजार तथा सहरभन्दा गाउँघरमा तिहारको रौनक बढ्ने देखिएको छ । प्रहरीले घर फर्किनेहरूले यात्राका क्रममा आवश्यक सावधानी अपनाउन आग्रह गरेको छ ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता डिएसपी डा. हेमबहादुर केसीले विशेषगरी सार्वजनिक यातायातमा हुने यात्रुको चापलाई मध्यनजर गर्दै सुरक्षित यात्रामा ध्यान दिन यात्रु तथा यातायात व्यवसायीलाई आग्रह गर्नुभएको छ । तिहार मनाउन घर फर्किनेको लर्कोसँगै जिल्लाका ग्रामीण बस्तीमा समेत चाडपर्वको उत्साह बढ्न थालेको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस