दाङ । राष्ट्रिय जनमोर्चा दाङले २०६२/०६३ को जनआन्दोलन तथा गणतन्त्र प्राप्तिको आन्दोलनमा दाङ जिल्लाबाट नेतृत्व गर्ने प्रमुख नेताहरूलाई एकै मंचमा ल्याउने भएको छ ।
गणतन्त्रविरुद्ध आवाज उठिरहेकै बेला आन्दोलनका तत्कालीन नेतृत्वकर्ताहरूको धारणा बुझ्न ‘वर्तमान राजनीतिक अवस्था र गणतन्त्र रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो ।
राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको योजना अनुसार वैशाख २० देखि गणतन्त्रको रक्षाका लागि देशभर कार्यक्रमहरू सञ्चालन हुँदैछन् । दाङमा हुने मुख्य कार्यक्रम वैशाख २७ गते घोराहीमा तय गरिएको छ ।
कार्यक्रममा तत्कालीन राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष भरत भण्डारी, तत्कालिन नेपाली कांग्रेस दाङका सभापति बिर्केस्वरी गौतम, तत्कालिन नेकपा (एमाले) का जिल्ला सचिव रेवतीरमण शर्मा लगायत अन्य गणतन्त्र पक्षधर दलका नेता र बौद्धिक वर्गका व्यक्तिहरूको उपस्थिति रहने भएको छ ।
यस्तै, स्थानीय तहमा पनि प्रतिगमनविरुद्धका कार्यक्रम तय गरिएका छन् । बैशाख २१ गते लमही, २२ गते गढवा, २३ गते राप्ती, २४ गते बंगलाचुली, २५ गते तुलसीपुर, २६ गते दंगीशरण, शान्तिनगर र बबई र बैशाख २८ गते राजपुरमा सभा तथा अन्तरक्रिया कार्यक्रम हुने राष्ट्रिय जनमोर्चा दाङले जनाएको छ ।















