
दाङ। काब्या केसी कक्षा ९ मा अध्ययरत छात्रा हुन् । गोरखा माविमा अध्ययरत काब्याले पछिल्लो समय कथा लेखन तालिम पाएपछि कथा लेख्न थालेकी छन् ।
सानै उमेरमा साहित्यमा रुचि राख्ने काब्यालाई कथा लेख्नमात्र होइन, वाचन गर्न पनि मनपर्छ । उनले बिहिबार विद्यालयले आयोजना गरेको कथा लेखन कार्याशालामा सहभागीता जनाउँदै कथा लेखन तथा वाचन गरिन् ।
यस्तै कक्षा १० छात्रा आयुसा बुढा ‘नराम्रो संगतको परिणाम’ कथा लेखेकी छन् । कथा लेखनमा रुचि भएकी आयुसालाई विद्यालयले तीन दिने कथा लेखन कार्यशाला गरेपछि झन् सहज भएको छ । विद्यालय पनि उत्कृष्ट कथालाई संचारमाध्यम प्रशारणमा सहयोग पुर्याउने छ भने कितावमा प्रकाशित गर्नेछ ।
विद्यार्थीले हप्तामा कम्तिमा पनि एउटा कथा लेख्ने प्रतिवद्धतासमेत गरेका छन् । विद्यालयका प्रधानाध्यापक बिजयमान जिएमले विद्यालयले बालबालिकाका उत्कृष्ट कथालाई विभिन्न माध्यममा उचित स्थान दिने बताउनुभयो ।
उहाँले विद्यालयले विद्यार्थीहरुमा रहेको अन्तिरनिहीत क्षमताको विकास गर्ने र लेखन शैलीमा वृद्धि गर्ने सोचका साथ तीन दिने कथा लेखन कार्याशाला गरेको बताउनुभयो । ‘कार्यशालालाई आगाम दिनमा पनि निरन्तरता दिनेछौँ ।’ उहाँले भन्नुभयो–‘अहिलेको कार्यशालाले पनि विद्यार्थी कथा लेखनमा निकै चासो देखाएका छन् ।’
४५ जना विद्यार्थी सहभागी भएको उक्त कथा लेखन अभ्यासमा केही विद्यार्थीले कथा त केहीले अनुभव सुनाएका थिए । गोरखा ग्रुपका शैक्षिक संयोजक दुर्गाबहादुर केसीले गोरखा माविले विद्यार्थीहरुलाई पाठ्यपुस्तकको अध्ययन मात्रै पर्याप्त नहुने भन्दै विविध अतिरिक्त क्रियाकलापमा जोड दिने गरिएको बताउनुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गत जनता विद्यापीठ बिजौरीका उपप्राध्यापक डा. खगेन्द्र घोडासैनीले विद्यार्थीले तीन दिनमै कथा लेखन शैलीमा देखिएको प्रगतिको प्रशंसा गर्नुभयो । उहाँले साहित्यिक चेतना बढाउन र साहित्यलाई निरन्तरता दिने वातावरण सिर्जना गर्न जरुरी रहेको बताउनुभयो ।
गोरखा माविका प्रिन्सिपल विजय जिएमको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपालिकाका शिक्षा अधिकृत मनबहादुर खड्का, प्याब्सन तुलसीपुरका अध्यक्ष डम्बर डाँगीलगायतले कथा लेखनले विद्यार्थीमा पठन संस्कृतिको विकास गर्ने बताउनुभयो ।