
दाङ । बालबालिकालाई असल र नैतिवान जनशक्ति बनाउन अभिभावकले असल भूमिका खेल्नुपर्ने तुलसीपुरमा आयोजित कार्यक्रमका सहभागीले जोड दिएका छन् । तुलसीपुर–१२ कान्तिपुरमा गरिएको सुनौलो भविष्य नामक कार्यक्रममा सहभागीले बालबालिकालाई समय दिएर अभिभावकले असल संस्कार सिकाउनुपर्ने बताएका छन् ।
कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकाले विद्यालय पठाएरमात्रै जिम्मेवारी पूरा नहुने भन्दै घरमा पनि असल संस्कार दिनुपर्ने बताउनुभयो ।
उहाँले अहिले पनि धेरै बालबालिका आफ्नो दैनिकी काममा सक्रिय हुन नसकिरहेको भन्दै बालबालिकालाई शिक्षासंगै व्यावहारिक काममा जोड्नुपर्ने बताउनुभयो । उहाँले अभिभावकको असल संस्कारले मात्रै बालबालिकाको भविष्य सुन्दर हुने बताउनुभयो ।
उहाँले समाजमा पछिल्लो समय विभिन्न प्रकारका समस्या देखिन थालेको भन्दै अभिभावक र टोलविकास संस्थाका पदाधिकारी जिम्मेवार बन्नुपर्ने बताउनुभयो । उहाँले बालबालिकालाई टोल विकास संस्थाको हरेक बैठकमा समावेश गरी निर्णय प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कान्तिपुर टोल विकास संस्थाका अध्यक्ष बेदबहादुर खत्रीले अभिभावकीय सचेतना बिना बालबालिका असल हुन नसक्ने बताउनुभयो । अभिभावकको निगरानीले मात्रै बालबालिका सही मार्गमा लाग्ने बताउनुभयो । कार्यक्रम सुनौलो भविष्य रेडियो हाम्रो पहुँचबाट हरेक शुक्रबार बेलुका ५ : १० देखि ५ : ४५ सम्म प्रशारण हुने गरेको छ ।