२०८२ मङ्सिर २७ गते शनिवार

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको जनसम्बन्ध विस्तार अभियान

दाङ — क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ४ नम्बर ब्युरोको आयोजनामा आज जनसम्बन्ध विस्तार अभियानको समापन तथा १३६औं अन्तर्राष्ट्रिय मजदुर दिवस भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रममा पार्टीका पोलिटब्युरो सदस्य शशिधर भण्डारी, पोलिटब्युरो सदस्य नारायण योगी, ब्युरो ४ का सचिव समीर केसी लगायतका नेताहरूले सम्बोधन गरेका थिए।

बक्ताहरूले जनसम्बन्ध विस्तार अभियानले देश र जनतामा नयाँ उत्साह थपेको उल्लेख गर्दै, “जनता अहिलेसम्म कहाँ हुनुहुन्थ्यो?” भन्ने प्रश्न उठाएका थिए। देशको आमूल परिवर्तनका लागि निरन्तर सङ्घर्षमा रहेको पार्टी यही हो भन्दै, अब क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको संगठनमा रहेर पार्टीको नीति तथा रणनीति लागू गर्दै जनवादी क्रान्तिको अधुरो कार्य सम्पन्न गर्न जनताहरू तयार भइसकेको धारणा राखिएको थियो।

४५ दिने लामो अभियानबाट विभिन्न जिल्लामा पार्टीप्रतिको जनविश्वास बढेको जनाउँदै, अब संसदवादी दलहरू आफ्नै गलत क्रियाकलापका कारण नाङ्गिँदै गइसकेका छन् र तिनीहरू समाप्त हुने दिन नजिकिएको बक्ताहरूले बताए।

देश आर्थिक, राजनीतिक तथा सामाजिक रूपमा कमजोर बनिरहेको, राज्य सञ्चालकहरू भ्रष्टाचार, माफिया र तस्करीमा फसेका कारण जनताले विश्वास गुमाइसकेको, त्यसैले अब देश बनाउने जिम्मेवारी क्रान्तिकारीहरूले लिनुपर्ने समय आएको भन्दै जनतालाई तयार रहन आह्वान गरिएको थियो।

अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा शुभकामना दिँदै बक्ताहरूले राज्य व्यवस्था परिवर्तन बाहेक यसको विकल्प नरहेको स्पष्ट पारे।

कार्यक्रमको सञ्चालन जिल्ला सचिवालय सदस्य तिलक विकले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सचिव ईश्वरीप्रसाद गैरेले राखेका थिए। कार्यक्रमको अध्यक्षता केन्द्रीय सदस्य लालध्वज पुनले गर्नुभएको थियो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस