
दाङ । लोकतन्त्र स्थापनापछि सत्ताको नेतृत्व गर्ने दलहरूले जनतामाथि गद्दारी गरेकाले अहिले प्रतिगामी विचारहरू उठ्न थालेको राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले बताउनुभयो ।
लमहीमा आयोजित विरोधसभा कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले अबको युगमा प्रतिगामी सोचको स्थान नहुने स्पष्ट पार्नुभयो । उहाँले सत्तारूढ दलहरू सुध्रनु पर्ने, गणतन्त्रको रक्षा गर्नु पर्ने र संघीयता खारेज गरी स्थानीय तहलाई अधिकारसम्पन्न बनाउनु पर्नेमा जोड दिनुभयो ।
“गणतन्त्रको रक्षा गरौं, प्रतिगामी खतराका विरुद्ध संघर्ष गरौं“ भन्ने नाराका साथ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गणतन्त्र स्थापनापछि पनि जनताको पक्षमा काम हुन नसक्नु र जनतामाथि नै गद्दारी हुनुले प्रतिगामी विचारहरू मौलाएको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले संघीयता चोरबाटोबाट गणतन्त्रमा घुसाइएको भन्दै त्यसले नै गणतन्त्रलाई बदनाम गरेको आरोप लगाउनुभयो । उहाँले संघीयता खारेज गरी शुद्ध गणतन्त्रको रक्षा गर्नुपर्ने बताउनुभयो ।
लमही नगरपालिकाका उपाध्यक्ष बासुदेव भट्टराईको अध्यक्षतामा कार्यक्रम भएको कार्यक्रममा राष्ट्रिय जनमोर्चा लमहि नगर इन्चार्ज ठाकुर भण्डारी लगाएतकाले मन्तव्य राख्नु भएको थियोे । कार्यक्रमको सहजिकरण बसन्त आचार्यले गर्नुभएको हो ।