
दाङ । दाङको घोराहीमा पहिलोपटक निःसन्तानपनको समस्यासम्बन्धी उपचार तथा परामर्श सेवा शुरु भएको छ । घोराहीमा रहेको शिशु क्लिनिक अफ फटिलिटी प्राइभेट लिमिटेडले सन्तान प्राप्ति तथा निःसन्तानपनको समस्यासम्बन्धी परामर्श सेवा शुरु गरेको हो ।
चितवनमा बिगत लामो समयदेखि सञ्चालनमा रहेको क्लिनिक हाल दाङको घोराहीमै शाखा विस्तार गरेर सेवा दिन शुरु गरेको छ । घोराही शाखा बाट तुलसीपुर उपमहानगरपालिका–१८ हेमन्तपुरका ३५ वर्षीय विज्ञान भण्डारीले गत चैत महिनादेखि क्लिनिकमार्फत परामर्श सेवा दिन सुरु गर्नुभएको हो ।
पहिले चितवनमा हुँदा दाङबाट धेरे जोडीहरु सेवा लिनको लागि पुग्ने गरेको उहाँले बताउनुभयो । सेवा लिन जाने धेरै जोडिहरु दाङकै रहेकाले उहाँहरुको सहजताका लागि दाङको घोराहीमा शाखा विस्तार गरेको भण्डारीको भनाई छ । यो एक महिनाको अवधिमा घोराहीबाट मात्रै १५० भन्दा धेरै जोडिहरुले सेवा तथा परामर्श लिएको उहाँले बताउनुभयो ।
भण्डारीले आफ्नै दाइले १० वर्षसम्म सन्तान नपाउँदा धेरै मानसिक पीडा भोगेको बताउनुभयो । उहाँले भन्नुभयो–“विगत १० वर्षसम्म मेरो दाईको पनि बच्चा थिएन, दशैं–तिहारमा आमाबुवाले अर्कोपटक नानीबाबुलाई टीका लगाउन पाइयोस् भन्दै आशिर्वाद दिनुहुन्थ्यो, त्यो सुन्दा सबैलाई नमजा लाग्थ्यो ।” बच्चा नहुने समस्या स्वयम परिवारको सदस्यले नै भोगका छौ । त्यसैले सन्तान नहुँने जोडिहरुलाई सेवा दिने मनसायले आफैले सन्तान प्राप्ति तथा निःसन्तानपनको समस्यासम्बन्धी परामर्श सेवा शुरु गरेको बताउनुभयो ।
दाइकोे अहिले डेढ वर्षको बच्चा छ । सन्तान भएपछि परिवारमा नै खुसी छाएको भण्डारीले बताउनुभयो । भण्डारीले निःसन्तानपनको समस्या भोगिरहेका जोडीलाई सेवा दिने उद्देश्यले क्लिनिक संचालन गर्नुभएको छ ।

संस्कृत विषयमा आचार्य उपाधि प्राप्त गरेका भण्डारीले चिकित्सा क्षेत्रमै केही योगदान गर्न सकिन्छ भन्ने सोचका साथ यो सेवा सुरु गरेको बताउनुभयो । निःसन्तानपनको समस्या समाधानका लागि चिकित्सा परामर्शसँगै मानसिक सशक्तिकरणको समेत महत्व रहेको उहाँको भनाई छ ।