दाङ। नेपालको स्वास्थ्य पर्यटनको सम्भावना, निजी स्वास्थ्य क्षेत्रमा लगानीको अवसर तथा नेपाली जडीबुटीलाई अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यसहित स्थापित गर्ने विषयमा भारतको गोवामा आयोजित ग्लोबल बिजनेस समिट-२०२६ मा सघन छलफल भएको छ।
निजी अस्पताल एसोसिएसन नेपालका वरिष्ठ उपाध्यक्ष,राप्ती लाइफ केयर अस्पतालका अध्यक्ष तथा राष्ट्रिय स्वतन्त्र पार्टीका नवप्रवर्तन विभागका निवर्तमान उपप्रमुख हरि रिजालले सम्मेलनमा सहभागी हुँदै नेपालमा स्वास्थ्य पर्यटनको विकास, अन्तर्राष्ट्रिय लगानी भित्र्याउने सम्भावना र नेपाली जडीबुटीको व्यावसायिक मूल्य अभिवृद्धिका विषयमा अन्तर्राष्ट्रिय लगानीकर्ता तथा प्रतिनिधिहरूसँग अनुभव आदानप्रदान गर्नुभएको छ।
उहाँले सम्मेलनमा सहभागी ५५ मुलुकका अन्तर्राष्ट्रिय समुदाय, व्यवसायी तथा लगानीकर्ताहरूसँग नेपालको स्वास्थ्य क्षेत्रको अवस्था, उपलब्ध सम्भावना र लगानीका अवसरबारे छलफल गर्नुभएको थियो।
रिजालले नेपाल प्राकृतिक स्रोतसाधन, जैविक विविधता, मौलिक जडीबुटी र स्वास्थ्य सेवाका दृष्टिले सम्भावनायुक्त मुलुक भए पनि ती सम्भावनालाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न आवश्यक रहेको विषय उठाउनुभएको थियो।
विशेषगरी नेपालमा उपलब्ध बहुमूल्य जडीबुटीलाई कच्चा पदार्थका रूपमा मात्र बिक्री नगरी वैज्ञानिक अनुसन्धान, प्रशोधन, गुणस्तर प्रमाणीकरण, आकर्षक प्याकेजिङ, ब्रान्डिङ र अन्तर्राष्ट्रिय बजार विस्तारमार्फत उच्च मूल्यको उत्पादनमा रूपान्तरण गर्नुपर्ने विषयमा लगानीकर्ताहरूसँग गहन छलफल भएको उहाँले बताउनुभयो।
त्यस्तै, नेपालको स्वास्थ्य पर्यटनलाई अन्तर्राष्ट्रियस्तरमा स्थापित गर्न निजी स्वास्थ्य संस्थाको क्षमता विस्तार, आधुनिक प्रविधि र उपकरणमा लगानी, दक्ष जनशक्ति उत्पादन तथा अन्तर्राष्ट्रिय स्वास्थ्य संस्थासँग सहकार्य गर्नुपर्ने विषयमा पनि अनुभव आदानप्रदान गरिएको थियो।
नेपालमा गुणस्तरीय स्वास्थ्य सेवा तुलनात्मक रूपमा सहज लागतमा उपलब्ध गराउन सकिने सम्भावनालाई अन्तर्राष्ट्रिय बिरामी र लगानीकर्तासमक्ष पुर्याउन सके स्वास्थ्य पर्यटन मुलुकको आर्थिक विकासको नयाँ आधार बन्न सक्ने विषय छलफलमा उठाइएको थियो।
सम्मेलनको मूल उद्देश्य अन्तर्राष्ट्रिय व्यापार, लगानी, उद्यमशीलता, प्रविधि हस्तान्तरण र विभिन्न मुलुकबीच व्यावसायिक साझेदारीको विस्तार गर्नु रहेको थियो।
अक्टोबर २९ देखि ३१ सम्म सञ्चालन भएको सम्मेलनमा ५० भन्दा बढी मुलुकका प्रतिनिधि, अन्तर्राष्ट्रिय खरिदकर्ता, लगानीकर्ता, उद्यमी तथा व्यवसायी सहभागी भएका थिए।
स्वास्थ्य, पर्यटन, प्रविधि, उत्पादन र अन्य सम्भावनायुक्त क्षेत्रमा लगानी तथा सहकार्यका अवसर खोजी गर्नु सम्मेलनका प्रमुख विषय रहेका छन् ।
कार्यक्रमले नेपालको स्वास्थ्य क्षेत्र, प्राकृतिक सम्पदा र जडीबुटीमा आधारित उद्योगलाई अन्तर्राष्ट्रिय लगानी तथा बजारसँग जोड्ने सम्भावनाबारे संवाद अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।



























