दाङ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुरोगसम्बन्धी विशेषज्ञ उपचार सेवा विस्तार भएसँगै दाङसहित आसपासका जिल्लाका बिरामीलाई सहजता भएको छ ।
यसअघि मुटुको रक्तनलीसम्बन्धी जटिल समस्या देखिएका बिरामी उपचारका लागि नेपालगञ्ज, बुटवल तथा काठमाडौं जानुपर्ने बाध्यता रहेकामा अहिले प्रतिष्ठानमै कोरोनरी एन्जियोग्राफी र एन्जियोप्लास्टी सेवा उपलब्ध हुन थालेको हो ।
प्रतिष्ठानमा मुटुरोग उपचार सेवा सुरु भएपछि स्थानीयस्तरमै विशेषज्ञ चिकित्सकबाट उपचार पाउने बिरामीको सङ्ख्या बढ्दै गएको छ । प्रतिष्ठानको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको असोज महिनामा मात्रै १९७ जनाले मुटुरोगसम्बन्धी विशेषज्ञ सेवा लिएका छन् । तीमध्ये १९० जनाले बहिरङ्ग अर्थात् ओपीडी सेवा लिएका छन् भने सात जना भर्ना भएर उपचार गराएका छन् ।
यसैगरी, फिजिसियन तथा मुटुरोग विशेषज्ञ डा. दिनेश उप्रेतीको नेतृत्वमा रहेको चिकित्सक टोलीले असोज महिनामा मुटुसम्बन्धी सातवटा साना तथा ठूला शल्यक्रिया सफलतापूर्वक सम्पन्न गरेको प्रतिष्ठानले जनाएको छ । मुटुको रक्तनलीमा देखिने अवरोध पहिचान तथा उपचारका लागि क्याथ ल्याबसहित आवश्यक उपकरणको व्यवस्था गरिएको छ ।
डा. उप्रेतीका अनुसार प्रतिष्ठानमा इन्टरभेन्सनल कार्डियोलोजी सेवा सुरु भएसँगै मुटुरोगको पहिचान र उपचारलाई स्थानीयस्तरमै अघि बढाउन सहज भएको छ । विशेषगरी मुटुको रक्तनलीमा समस्या भएका बिरामीलाई एन्जियोग्राफी तथा आवश्यकताअनुसार एन्जियोप्लास्टी सेवा उपलब्ध गराउन थालिएको छ ।
यसअघि दाङ, रुकुम, रोल्पा, प्युठान र सल्यानलगायत जिल्लाका बिरामी मुटुको जटिल उपचारका लागि जिल्ला बाहिर जानुपर्ने अवस्था थियो । जिल्ला बाहिर उपचार गराउँदा लाग्ने समय, खर्च र यात्राको कठिनाइका कारण बिरामी तथा परिवारले समस्या भोग्दै आएका थिए । प्रतिष्ठानमा सेवा सुरु भएपछि भने त्यस्ता बिरामीलाई जिल्लामै उपचारको विकल्प उपलब्ध भएको छ ।
प्रतिष्ठानका रजिस्ट्रार प्राध्यापक डा. श्याम लम्सालले कार्डियोलोजीअन्तर्गत मुटुरोगको परीक्षणदेखि उपचार र शल्यक्रियासम्मका सेवा विस्तार भइरहेको जानकारी दिनुभयो । उहाँले मुटुरोग उपचारका लागि आवश्यक उपकरण तथा विशेषज्ञ सेवा विस्तारलाई प्रतिष्ठानले प्राथमिकतामा राखेको बताउनुभयो ।
यसैबीच, मुटुरोगको उपचारलाई विपन्न नागरिकको पहुँचमा पुर्याउन प्रतिष्ठानले विपन्न नागरिक औषधि उपचार कोषमा सूचीकृत हुन निवेदनसमेत पठाएको छ । सूचीकृत भएपछि विपन्न नागरिकले प्राप्त गर्ने उपचार सहुलियत प्रतिष्ठानबाटै उपलब्ध गराउने बाटो खुल्ने अपेक्षा गरिएको छ ।


























