
दाङ । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोम बहादुर खत्रीले कसैले चाहँदैमा राजतन्त्र फर्किन नसक्ने बताउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा तुलसीपुर नगरसमितिले बिहिबार तुलसीपुरमा आयोजना गरेको प्रतिगमन विरुद्धको बिरोध सभालाई सम्बोधन गर्दै उहाँले कसैले सडकमा राजा आउ भन्दैमा देहवसान भइसकेको राजतन्त्र नफर्किने बताउनुभयो ।
नागरिकले राजा भन्दा पनि सुदृढ गणतन्त्र चाहेको उहाँको भनाई छ । उहाँले देशमा गणतन्त्र ल्याउन नागरिकले बलिदानी गरेको स्मरण गर्दै अहिले नागरिकले जनवादी गणतन्त्र चाहेको बताउनुभयो ।
उहाँले नेतृत्वको गलत क्रियाकलापकै कारण नागरिकमा वितृष्णा जागेको फाइदा उठाउँदै राजावादीले राजतन्त्र फर्काउन खोजेको बताउनुभयो ।
उहाँले गणतन्त्रको रक्षाका लागि नै राष्ट्रिय जनमोर्चाले देशव्यापीरुपमा प्रतिगामी खतराका विरुद्धमा सचेतना अभियान थालेको बताउनुभयो । यस्तै नेकपा मसाल दाङका प्रवक्ता भरत भण्डारीले गणतन्त्र कसैको दया, माया र भिख मागेर नआएको बताउँदै नेपाली जनताले रगतसंग साटेर ल्याएको बताउनुभयो ।
उहाँले राजतन्त्रले २५० वर्षमा गरेको अत्याचारकै कारण नागरिकले बलिदानीपूर्ण संघर्षबाट राजतन्त्रको अन्त्य गरी गणतन्त्र ल्याउन सफल भएको बताउनुभयो । उहाँले नेपाली नागरिकलाई भन्दा पनि एउटा दुर्गा पर्साईलाई राजा चाहिएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यले जनताले बलिदानीपूर्ण संघर्षबाट ल्याएको गणतन्त्रणका विरुद्धमा विचार र भावना आउँदै गर्दा जनमोर्चाले प्रतिगामीका विरुद्ध संघर्षका कार्यक्रम अघि सारेको बताउनुभयो ।
दाङमा गत आइतबारदेखि संर्घषका कार्यक्रम अघि बढाएको उहाँले बताउनुभयो । उहाँले सरकारको नेतृत्व गर्नेहरु जनभावना विपरित काम गर्दा अहिलेको व्यवस्थाविरुद्ध प्रतिगामी शक्तिहरु सल्बलाएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा तुलसीपुर नगरसमितिका अध्यक्ष श्यामलाल पोखरेलको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजीकरण अखिल नेपाल किसान महासंघका दाङ जिल्ला अध्यक्ष ऋषीराम पौडेलले गर्नुभएको हो ।