
दाङ । दाङको तुलसीपुरमा अपांगता भएका महिलाहरूका लगि समावेशी र पहुँचयुक्त प्रजनन स्वास्थ्यबारे अभिमुखीकरण कार्यक्रम गरिएको छ । लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट सहभागी महिलाहरूलाई बुधबार र बिहिबार दुई दिनसम्म प्रजनन स्वास्थ्यको हक, सेवा र जानकारीबारे सचेतना प्रदान गरिएको हो ।
पहिचान नेपालको आयोजनामा दुई दिनसम्म कार्यक्रम गरिएको हो । पहिचान नेपालका संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक इच्छा केसीले लुम्बिनी प्रदेशमा अपांगता भएका महिलाहरु विषेशगरी सिमान्तकृत , एकल महिलालाई प्रजनन् स्वास्थ्यबारे सचेतना प्रदान गरिएको बताउनुभयो ।
उहाँले अपांगता भएकै कारण अपांग महिलालाई विवाह हुनबाट रोक्ने, विभिन्न लान्छना लगाउने प्रवृतिलाई अन्त्य गर्न र स्वास्थ्यको पहुँच सुनिश्चित गर्नका लागि सचेतना दिन निरन्तर अभियानमा रहेको बताउनुभयो ।
उहाँल अपांगता भएका महिलाको समस्या पहिचान, समाधान गर्ने उपायको खोजि, प्रजनन् स्वास्थ्यमा पाउनुपर्ने सेवाका बारेमा सहजीकरण गरिएको बताउनुभयो । अपांगता महिला सशक्तिकरण समिति लुम्बिनी प्रदेशका संयोजक बसन्ती वलीले अपांगता भएका महिलाहरूको जीवनस्तर उकास्न, स्वास्थ्यको पहुँच सुनिश्चित गर्न र उनीहरूलाई सशक्त बनाउन कार्यक्रमले भूमिका खेलेको बताउनुभयो ।
सहभागी महिलाहरूले यस्ता कार्यक्रमले आफूलाई सशक्त बनाएको, बोल्न र सेवा लिन आत्मबल बढाएको प्रतिक्रिया दिएका छन् । गुल्मीको मालिका गाउँपालिका–७ का गंगा घिमिरेले अपांगता भएका महिला प्रजनन् स्वास्थ्यबारे सचेतना नहुँदा विभिन्न समस्या झेल्नु परेको अवस्थामा कार्यक्रम प्रभावकारी भएको बताउनुभयो ।
यस्तै पश्चिम नवलपरासीका गंगा पाण्डेले कार्यक्रमले आत्मविश्वास बढाएको र स्वास्थ्य सेवा लिन सक्ने जानकारी प्रदान गरेको बताउनुभयो । त्यस्तै दृष्टिबिहिन राम बहादुर खड्काले सेवा सुविधा प्राप्तीका लागि महिला स्वयं चनाखो बन्नुपर्ने बताउनुभयो ।