
दाङ । माध्यमिक तहमा शिक्षक अभावको समस्या समाधान गर्न सरकारले एउटै शिक्षकबाट दुई वटा विषय पढाउन सक्ने गरी नीतिगत व्यवस्था गर्न लागेको छ ।
यो व्यवस्थालाई कार्यान्वयन गर्न सहज हुने गरी क्याम्पसमा पढ्दै विद्यार्थीलाई विषय छनोट कार्य लचिलो बनाउनेबारेमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र विश्वविद्यालय अनुदान आयोगबिच छलफल भएको छ ।
आगामी आर्थिक वर्षमै बजेटको व्यवस्था गरेर कार्यान्वयनमा लैजाने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले बताउनुभयो ।
प्रवक्ता सापकोटाका अनुसार माध्यमिक तहमा थोरै मात्रै विद्यार्थी भए पनि विषयगत शिक्षक खटाउनुपर्ने र त्यस्ता शिक्षकले कक्षा ९ र १० मा दुई पिरियड मात्रै पढाएर पनि जागिर पकाउने गरेको उदाहरण प्रशस्तै छन् । माथिल्लो तहमा नियुक्ति पाएका शिक्षकलाई त्यहाँ पर्याप्त कक्षा नभएको अवस्थामा तल्लो तहमा खटाउन पनि सकिएको छैन ।
साथै खचाखच विद्यार्थी भए पनि केही विद्यालयमा भने माध्यमिक तहमा पर्याप्त शिक्षक दरबन्दी दिन सकिएको छैन ।