
दाङ । नेपालमा एआइ प्रविधिको प्रयोग तीव्र गतिमा फैलिँदै गइरहेका बेला यसको उपयोगबारे देखिएको भ्रम र अनिश्चितताप्रति विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् ।
सोमबार मेट्रो कलेज तुलसीपुरले आयोजना गरेको एक कार्यक्रममा क्यानडाको ओटावा युनिभर्सिटीका एआइ तथा सञ्चारका प्राध्यापक डा. भानुभक्त आचार्यले नेपालमा प्राध्यापकदेखि विद्यार्थीसमेत च्याटजिपिटी र एआइ प्रविधिप्रति आकर्षित भए पनि यसको यथार्थ बुझ्न नसकेको धारणा राख्नुभयो ।
‘एआइ प्रविधिले मानवीय कामकाजलाई सहज बनाउने हो, सुतिसुति खान दिने होइन ।’ उहाँले भन्नुभयो–‘एआइले कसैको घरमा भात पकाइदिएको छ र ? यो त काम गर्न सहज बनाउने औजार हो । विद्युत् वा इन्टरनेटजस्तै, एआइ पनि आधुनिक जीवनलाई सहज बनाउने अर्को कडी हो ।’
नेपालमा एआइको प्रयोगबारे दुई किसिमका अतिवादी धारणा रहेको बताउँदै उहाँले दुवै दृष्टिकोण भ्रममा आधारित रहेको दाबी गर्नुभयो । ‘संसारभर एआइसम्बन्धी मास्टर्स र पिएचडी डिग्री सुरु भइसकेका छन्, नेपालमा अझै यसको उपयोगमै अन्यौलता छ ।’ प्रा. आचार्यको भनाइ छ ।
उहाँले सरकारको ध्यान प्रविधिको अभ्यास र उपयोगतर्फभन्दा पनि मिशन ८४ जस्ता राजनीतिक एजेन्डामा केन्द्रित भएको भन्दै गुनासो गर्नुभयो । ‘एआइबारे गहिरो छलफल हुनुपर्छ, तर को गर्ने? अब पेशागत संगठनहरूले अगुवाइ लिनुपर्छ ।’ उहाँले थप्नुभयो ।
कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक दुर्गालाल केसीले इन्टरनेटको प्रयोगसँगै बढिरहेका विद्युतीय अपराधतर्फ ध्यानाकर्षण गराउनुभयो । ‘समस्या समाधान गर्न प्रविधि बन्द गर्ने होइन, नियमन गर्ने नीति आवश्यक छ ।’ उहाँले भन्नुभयो।
केसीका अनुसार महान्यायाधिवक्ताको कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साइबर अपराधका उजुरी परेका ५० मध्ये सबै ५० मुद्धा प्रमाणित भएका छन् । ति अपराधमा १८ देखि ३० वर्ष उमेर समूहका व्यक्ति पीडक र पीडित दुवैको सूचीमा अगाडि छन् ।
कलेज प्रमुख बसन्त आचार्यका अनुसार विद्यार्थीलाई एआइ र विद्युतीय अपराधसम्बन्धी जानकारी दिन यो कार्यक्रम आयोजना गरिएको हो । प्रविधिको प्रयोग बढ्दै जाँदा यसप्रति चेतना आवश्यक रहेको उहाँले बताउनुभयो ।