२०८२ फाल्गुन २६ गते मङ्गलवार

बालबालिकाको नैतिक विकासमा अभिभावकको भूमिका अपरिहार्य


दाङ, २० जेठ । बालबालिकाको नैतिक विकासमा अभिभावकको भूमिका अपरिहार्य रहेको अभिभावक र सरोकारवालाले बताएका छन् । तुलसीपुर उपमहानगरपालिका–७ को गौरादेवी टोलमा गरिएको कार्यक्रम सुनौलो भविष्यमा अभिभावक र सरोकारवालाले बालबालिकालाई असल, जिम्मेवार र नैतिकवान बनाउन अभिभावकको भूमिका महत्वपूर्ण रहेका बताएका छन् ।

उनिहरुको बालबालिकाको चौतर्फी विकासका लागि अभिभावक, विद्यालय तथा समुदायबीच समन्वय आवश्यक रहेको धारणा व्यक्त गरेका छन् । कार्यक्रममा दाङ भ्याली माध्यमिक विद्यालय तुलसीपुरका अध्यक्ष तिलक शाहुले बालबालिकाको सर्वांगीण विकासका लागि उनीहरूलाई सानो उमेरदेखि नै निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने आवश्यकता औंल्याउनुभयो ।

उहाँले बालबालिकालाई आफ्ना विचार खुलस्त रूपमा राख्न प्रोत्साहन गर्नु र उनीहरूको सोचलाई सम्मान गर्नुले उनीहरूको आत्मविश्वास बढ्ने बताउनुभयो । अध्यक्ष शाहुले पछिल्लो समय मोबाइल फोनको दुरुपयोग, सामाजिक सञ्जालमा अत्याधिक निर्भरता र दुर्व्यसनजन्य क्रियाकलापमा बालबालिका तानिँदै गएको अवस्थामा चिन्ता व्यक्त गर्दै समयमै सचेत र सजग बन्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले यस किसिमको समस्या समाधानका लागि परिवार, विद्यालय र सम्पूर्ण समाजको एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गर्नुभयो ।

यस्तै वडा नम्बर ७ का वडा सदस्य शोभाराम भण्डारीले पनि बालबालिकाको भविष्य सुरक्षित र उज्ज्वल बनाउन अभिभावकको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

उहाँले बालबालिकालाई गलत संस्कार, अपसंस्कृति र दुर्व्यसनबाट जोगाउनका लागि घरमै सशक्त आधार निर्माण गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा लोकमणी पोखरेल, कमला जिसी, बसन्ता सापकोटा, टोलका अध्यक्ष लोकमणी पन्थी, उपाध्यक्ष छविलाल पन्थी लगायतले अभिभावक स्वयं सचेत र अनुशासित भई आफ्ना सन्तानका लागि प्रेरणाको स्रोत बन्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा स्थानीय अभिभावक, बालबालिका, शिक्षक, समाजसेवी तथा युवाहरुको उल्लेख्य सहभागिता रहेको थियो । सहभागीहरुले यस्ता कार्यक्रमले समुदायमा चेतना जगाउने र बालमैत्री समाज निर्माणमा सहयोग पुग्ने बताएका छन् ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस