२०८२ साउन १ गते बिहिवार

कङ्गारूको शाखा तुलसीपुरमा

तुलसीपुर। कङ्गारू एजुकेसन काठमाडौंको शाखा तुलसीपुरबाट सञ्चालनमा आएको छ। विदेशमा पढ्न जाँदा संस्कारसँगै अनुशासन सिकाउने उद्देश्यले १९ वर्षअघि स्थापना भएको संस्थाले १० औं शाखा शुक्रबारदेखि तुलसीपुरबाट पनि सुरु गरेको हो। तुलसीपुरका चार जना युवाहरू प्रसिल पौडेल (शेखर), अजय रिजाल, अश्विन गुप्ता र विशाल गुप्ता मिलेर कङ्गारूको शाखा सञ्चालनमा ल्याएका हुन्।

अष्ट्रेलिया, न्यूजिल्यान्ड, युके, क्यानडा, अमेरिका, डेनमार्कलगायतका देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई उचित परामर्श तथा नैतिक शिक्षासहितका कक्षाहरू सञ्चालन गरिने तुलसीपुरका फाउन्डर पौडेलले जानकारी दिनुभयो। २५ लाख लागतमा सञ्चालनमा आएको संस्थामा ६ जनाले अहिले प्रत्यक्ष रोजगारी पाएका छन्।

शाखाको उद्घाटन शुक्रबार तुलसीपुर उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत र कङ्गारू एजुकेसन काठमाडौंका प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमिल्सिनाले संयुक्त रूपमा गर्नुभएकाे हाे।

संस्थाको उद्घाटन गर्दै प्रमुख अतिथि बस्नेतले प्लस टु अध्ययन गरेर विदेश पढ्न जाने विद्यार्थीहरूको सङ्ख्या उच्च रहेको उल्लेख गर्दै पढ्ने विषयसँगै त्यहाँको संस्कार र इमानदारीतालाई प्राथमिकताका साथ सहजीकरण गर्नुपर्ने बताउनुभयो।

संस्थाका प्रमुख कार्यकारी अधिकृत महेश बाबु तिमिल्सिनाले काठमान्डौमा स्थापना भएकाे धेरै समयपछि दाङमा शाखा विस्तार गर्न पाउँदा खुसी लागेको बताउनुभयो। उहाँका अनुसार काठमाडौंमा केन्द्रीय कार्यालय रहेको संस्थाका शाखाहरू धरान, इटहरी, विराटनगर, झापा, बुटवललगायत शहरहरूमा विस्तार भइसकेको छ। विगत लामो समयदेखि तुलसीपुरबासीको अत्यधिक मागका कारण शाखा विस्तार गरिएको उहाँले जानकारी दिनुभयो। शाखा विस्तार भएसँगै विदेश पढ्न चाहने विद्यार्थीहरू परामर्श लिनका लागि काठमाडौं जानुपर्ने बाध्यताको अन्त्य भएको छ।

तुलसीपुरका फाउन्डर प्रसिल पौडेल (शेखर)को अध्यक्षतामा भएको शाखा उद्घाटन कार्यक्रममा तुलसीपुर शाखा प्रमुख अजय रिजालले देशको उत्कृष्ट संस्था कङ्गारू एजुकेसनको शाखा तुलसीपुरमा स्थापना गर्न पाउँदा खुसी लागेको बताउनुभयो। सही देश छनोट, विदेशमा अध्यउनका लागि मेहेनत र इमानदारीताका विषयमा उच्च तहको परामर्श आवश्यक पर्ने भएकाले सोहीअनुसारको कक्षा व्यवस्था गरिएको जानकारी दिनुभयो। कार्यक्रमको सहजीकरण सोहिना साहले गर्नुभएको हो।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस