२०८२ फाल्गुन २६ गते मङ्गलवार

स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’को थप अध्यावधिक गरिदै

दाङ, २ असार । स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ थप अध्यावधिक गरिने भएको छ । तुलसीपुर उपमहानगरपालिका भित्रका विद्यालयमा पढाई हुने स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ अध्यावधिक गर्न लागिएको हो ।

शिक्षा महाशाखाका प्रमुख चक्र भण्डारीले ‘हाम्रो तुलसीपुर’लाई अध्यावधिक गर्नका लागि अहिले सुझाव संकलन गरिरहेको बताउनुभयो । तुलसीपुरको इतिहास, भूगोल, कला, संस्कृति, भाषा, रहनसहन आदि विषयवस्तु समेटेर तयार पारिएको ‘हाम्रो तुलसीपुर’ पुस्तकलाई पहिलो पटक अध्यावधिक गर्न लागिएको हो ।

स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ तुलसीपुर उपमहानगरपालिकाका विद्यालयमा पठनपाठन भइरहेको छ । कक्षा १ देखि ८ सम्म पठनपाठन भइरहेको पुस्तक पहिलो पटक अध्यावधिक गर्न लागिएको हो ।

पुस्तक अध्यावधिक गर्नका लागि सोमबार तुलसीपुर क्षेत्रमा कार्यरत पत्रकारसंग सुझाव संकलन गरिएको हो । त्यस अवसरमा पत्रकारले स्थानीय पाठ्यक्रम ‘हाम्रो तुलसीपुर’ मा तुलसीपुरको इतिहास,पौराणिक मेला, सहकारी शिक्षा, स्थानीय सफल व्यक्तित्वका जीवनी लगायतका विषयवस्तु समेटिनुपर्ने बताएका छन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत, नेपाल प्रेस युनियन दाङका अध्यक्ष नारायण खड्का, प्रेस सेन्टर दाङका सचिव दिपक बोहरा, गोरक्ष दैनिकका बालाराम खड्का, रेडियो हाम्रो पहुँचका समाचार प्रमुख जीतसागर जी.एम. राप्ती पहिचानका यज्ञ बहादुर बुढा, शितलपुर अनलाइनका जयन्ती चौधरी लगायतले कितावमा लेखिएका पाठमा शुद्धाशुद्धी सच्याउनुपर्ने, सहि अर्थ दिनेगरी वाक्य लेख्नुपर्ने, छपाईमा गुणस्तरियता हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक महेन्द्र भण्डारीले हाम्रो तुलसीपुरमा धेरै विषयवस्तु समेट्न खोजिएपनि केहि सुधार गर्नुपर्ने कुराहरु पनि रहेको बताउनुभयो ।

स्थानीय पाठ्यक्रम हाम्रो तुलसीपुर लेखक तथा सम्पादक समेत रहनुभएका उपप्राध्यापक भण्डारीले आगामी दिनमा सुधार गरेर लैजानका लागि सुझाव संकलन गरिएको बताउनुभयो ।

यस्तै पुस्तकका भाषा सम्पादक गोकर्ण पौडेलले भाषिक शुद्धतामा समस्या भएको भए सच्याएर जान सकिने बताउनुभयो । कार्यक्रमको सहजीकरण शिक्षा महाशाखा अधिकृत मनबहादुर खड्काले गर्नुभएको हो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस