दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ४ स्थित रक्षाचौरमा बसोबास गर्दै आएको गन्धर्व समुदायलाई समाजसेवी उपेन्द्र पौडेलले झुल वितरण गर्नुभएको छ । गर्मीयाम संगै लामखुट्टेको टोकाईबाट सुरक्षित बनाउन उहाँले व्यक्तिगत पहलमा झुल सहयोग गर्नुभएको हो ।
गर्मी मौसम र वर्षासँगै संक्रमण र मलेरिया जस्ता रोगको जोखिम बढ्ने भएकाले गन्धर्व समुदायका परिवारहरू सुरक्षित रहून् भन्ने उद्देश्यले झुल वितरण गरिएको पौडेलले बताउनुभयो ।
उहाँले शानिबार समुदायमा पुगेर व्यक्तिगतरूपमै झुल हस्तान्तरण गर्दै सानो प्रयासले पनि धेरैको जीवनमा सकारात्मक प्रभाव पार्न सकिने विश्वास व्यक्त गर्नुभयो ।
उपलब्ध स्रोत र व्यक्तिगत लगानीबाट गरिएको यो सहयोगप्रति गन्धर्व समुदायका स्थानीयवासीहरूले हार्दिक कृतज्ञता व्यक्त गरेका छन् । गन्धर्व समुदायका अगुवाहरूले समाजमा पछाडि पारिएका वर्ग र समुदायप्रति देखाइएको सहानुभूति र सहयोगप्रति सम्मान व्यक्त गर्दै अन्य समाजसेवी र संस्थाहरूलाई पनि यस्ता उदाहरणीय कार्य गर्न आग्रह गरेका छन् ।
यसअघि पनि समाजसेवी पौडेलले खाद्यान्न तथा लत्ताकपडा वितरण लगायतका विविध सामाजिक कामहरूमा सक्रियता देखाउँदै आउनुभएको छ । उहाँले सामाजिक सेवा नै जीवनको साँचो धर्म भएको बताउँदै आगामी दिनमा पनि आफू सक्दो सहयोग गर्न तयार रहेको प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।















