दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भइरहेको राजनीतिक प्रतिशोध भएको भन्दै देशव्यापी रुपमा नागरिकको हस्ताक्षर अभियान सुरु गरिएको छ ।

दाङ लगायत देशका विभिन्न ठाउँमा हस्ताक्षर अभियान संचालन भएको युवा नेता जीवन भण्डारीले जानकारी दिनुभयो । यसैबिच आज आइतबार दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ को बिजौरी र वडा नम्बर ५ को बसपार्क क्षेत्रबाट औपचारिक रुपमा हस्ताक्षर संकलन अभियान सुरु गरिएको हो ।

आज मात्रै तुलसीपुर क्षेत्रमा करिब १ हजार ५ सयभन्दा बढी नागरिकहरूले हस्ताक्षर गरेर रवि लामिछानेप्रति ऐक्यबद्धता जनाएको भण्डारीले बताउनुभयो । तुलसीपुरकै वडा नम्बर ७, ११ र १३ मा अभियान सञ्चालन भइरहेको युवा नेता भण्डारीले जानकारी दिनुभयो ।
अभियान दुई चरणमा अभियान सञ्चालन हुने उहाँले जानकारी दिनुभएको छ । युवा नेता भण्डारीका अनुसार पहिलो चरणमा सहर केन्द्रित अभियान सञ्चालन हुनेछ भने दोस्रो चरणमा गाउँगाउँमा अभियान संचालन हुनेछ ।

उक्त अभियान एक हप्तासम्म सञ्चालन हुने बताइएको छ । अभियान अन्तर्गत तुलसीपुर उपमहानगरपालिकाका १९ वटै वडामा हस्ताक्षर संकलन गरिने युवा नेता भण्डारीले जानकारी दिनुभयो ।
नेता भण्डारीले विशेषगरी नेपाली कांग्रेस र एमालेका नेताहरूले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोधको वातावरण सिर्जना गरेको आरोप लगाउनुभएको छ । उहाँले लोकतन्त्र र नागरिकको मतको अपमान हुने गरी चलाइएको योजनाको विरोधमा आम नागरिक स्वतःस्फूर्त रुपमा उभिन थालेको बताउनुभयो ।










