दाङ । तुलसीपुरमा रासायनिक मल मागभन्दा करिब ४० प्रतिशत कम आपुर्ति हुने गरेको छ । तुलसीपुर उपमहानगरपालिका कृषि शाखाका अनुसार युरिया मागको ६१.८८ प्रतिशत र डिएपी ६०.०६ प्रतिशत मात्रै आपूर्ति हुने गरेको हो ।
कृषि शाखा प्रमुख कुलराज चौधरीले तुलसीपुर उपमहानगरपालिकामा वार्षिक रूपमा युरिया ३ हजार ४७८ मेट्रिक टन र डिएपी १ हजार ७३४ मेट्रिक टन आवश्यक पर्ने गरेको छ । तर करिब ४० प्रतिशत माग धान्न नसकिएको उहाँले बताउनुभयो ।
कृषि सामाग्री केन्द्र तुलसीपुरका प्रमुख कृष्ण प्रसाद खनालले केन्द्रको लक्ष्य अनुसार नै काम भइरहेको भएपनि त्यो लक्ष्यले तुलसीपुर उपमहानगरपालिकाको लागि मात्रै प्रयाप्त नरहेको बताउनुभयो ।
उहाँले सहकारीमार्फत वितरण गर्दा प्रभावशाली पावर समूहले बढी मल पाउने र साना किसान वञ्चित हुने गुनासो बढ्दो रहेको बताउनुभयो । तुलसीपुर केन्द्रले दाङका चार वटा पालिका र छिमेकी सल्यान जिल्लासमेत हेर्नुपर्ने भएकाले माग अनुसार मल पुर्याउन कठिनाइ भइरहेको उहाँले बताउनुभयो ।
आइतबार धान दिवसकै अवसर पारेर नेपाल घरेलु तथा साना उद्योग महासंघ तुलसीपुरले ‘रासायनिक मल आपूर्तिको वर्तमान अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रम गरेको हो ।
घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष लाल बहादुर केसीले स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न र स्थानीय उत्पादकहरुलाई प्रोत्साहित गर्न किसान तथा कृषि उद्यमिहरुले सहज रुपमा मल पाउनुपर्ने बताउनुभयो ।










