२०८२ साउन १ गते बिहिवार

कांग्रेसमा अनुशासन हराउँदा कार्यकर्तामा असन्तुष्टी बढेको छ : गिरी


दाङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गेहेन्द्र गिरीले पछिल्लो समय पार्टीभित्र अनुशासन हराउँदै गएको बताउनुभएको छ । काठमाडौँमा जारी नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठकमा बोल्दै गिरीले पार्टीभित्र ‘तेरो र मेरो’ भन्ने प्रवृत्ति हावी बन्दा कार्यकर्तामा असन्तुष्टि बढेको बताउनुभयो ।

कार्यकर्तामा असन्तुष्टी बढेका कारण पटक–पटकको निर्वाचनमा पार्टीले क्षति व्यहोर्नु परेको उहाँले बताउनुभयो । ‘अब एउटै लठ्ठी प्रयोग गरौँ ।’

गिरीले पार्टीका भातृ संगठनहरूको अधिवेशन केही जिल्लामा नहुनु नेतृत्वकै कमजोरी भएको भन्दै केन्द्रीय समितिबाटै पत्राचार गरी अधिवेशन गराउनुपर्नेमा जोड दिनुभएको छ ।

२०७४ को स्थानीय निर्वाचनमा नेतृत्वको कमजोरीकै कारण केही ठाउँमा असन्तुस्ट पक्षले उम्मेदवारी हालेको र पार्टिले कारबाही गरेको र २०७६ सालको दाङ क्षेत्र नं ३’ख’ को उपनिर्वाचनका क्रममा भएको चुनावी आमसभालाई सम्वोधनको क्रममा काङ्ग्रेसका तत्कालिन वरिष्ठ नेता र हालका राष्ट्रपति रामचन्द्र पौडेल, पार्टी सभापति शेरबहादुर देउवाले ‘कारवाही फुकुवा हुन्छ’ भनेको स्मरण गर्दै गिरीले हालसम्म उनिहरुको कारवाही फुकुवा नभएको गुनासो गर्नुभयो ।

‘हालसम्म उनिहरुको सक्रिय सदस्यता नविकरण भएको छैन, यो अन्यायपूर्न कुरा हो’ उहाँले भन्नुभयो–‘यसका लागि केन्द्रीय समितीले पत्राचार गर्नुपर्छ ।’

एक अर्को प्रसङ्गमा गिरीले कतिपय ठाउँमा सक्रिय सदस्यता वितरण गर्दा आफ्ना आफन्तलाई मात्र दिइएको आरोप लगाउनुभयो । त्यस्ता ठाउँबाट निर्वाचनमा कांग्रेसले अत्यन्त कम मत पाएको उल्लेख गर्नुभयो ।

पार्टीभित्रको असन्तुष्टिका कारण सक्रिय सदस्यता नविकरण गर्ने संख्या पनि घटेको उहाँको भनाइ छ । उहाँले पार्टी र जनप्रतिनिधिबीच समन्वयको कमी देखिएको समेत बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस