दाङ । नेकपा बहुमत निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले शुक्रबार (आज) आम शैक्षिक हड्तालको घोषणा गरेको छ ।
संयोजक सन्देश सापकोटले हस्ताक्षर गरेको विज्ञप्तिमार्फत संगठनले विद्यमान शिक्षा नीतिहरू जनमुखी नभएको, निजीकरण र व्यापारीकरणलाई प्रवद्र्धन गर्ने खालको रहेको भन्दै त्यसको विरोधमा शैक्षिक संस्था बन्द गर्ने निर्णय लिएको जनाएको छ ।
सरकारले शिक्षा नीतिमा गरिरहेको एकलौटी हस्तक्षेप, सार्वजनिक शिक्षामा गरिएको कटौती, शुल्क वृद्धि, र शिक्षामा असमानताको अन्त्यका लागि यो हड्ताल गरिएको संगठनले जनाएको छ ।
संगठनले संविधानले व्यवस्था गरेको निशुल्क र गुणस्तरीय शिक्षाको अधिकारलाई राज्यले कार्यान्वयन नगरेको आरोप लगाएको छ । साथै निजी क्षेत्रको मनपरी सञ्चालन र राज्यको निरीह भूमिकाले शिक्षामा विकृति र विसंगति बढाएको भन्दै आम विद्यार्थीलाई हड्तालमा ऐक्यबद्ध हुन आह्वान गरिएको छ ।
अखिल क्रान्तिकारीले सबै शैक्षिक संस्था, विद्यालय तथा कलेज साउन २ गते आजका दिन बन्द गराउने जनाएको छ । हड्ताल शान्तिपूर्ण र व्यवस्थित हुने र आवश्यक परेको खण्डमा थप आन्दोलनको कार्यक्रम घोषणा गरिने संगठनले चेतावनी दिएको छ ।
















