२०८२ माघ ५ गते सोमवार

मनसुनमा पनि आगलागीका घटनामा परि पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु

दाङ। वर्षातको समयमा पनि आगलागीका घटनामा परी पछिल्ला दिनमा ठूलो जनधनको क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सक्रिय मनसुन रहेको, देशव्यापी रुपमा पानी परिरहेको भए पनि आगलागीको घटना उल्लेख्य भएका छन् ।

यही साउन ३ गते बिहान १० बजेदेखि ४ गते बिहान १० बजेसम्म मात्रै ६ वटा आगलागीका घटना भएका छन् । त्यसबाट ६ जनाको निधन भएको छ भने एक घाइते भएका छन् । आगलागीबाट ४० परिवार प्रभावित भएका छन् ।

गत वैशाखदेखि साउन ४ गतेसम्म नौ सय ६९ वटा आगलागीका घटना घटेका छन् । त्यसबाट १४ जनाको मृत्यु भएको छ । आगलागीमा परेर एक सय ४० जना घाइते भएका छन् । त्यसबाट एक हजार ७९ परिवार प्रत्यक्ष रुपमा प्रभावित भएको प्राधिकरणको विवरणमा उल्लेख छ ।

गत वैशाखदेखि हालसम्म वन डढेलोको सङ्ख्या १५८ छन् । त्यसबाट दुई जना घाइते हुँदा २७ घरपरिवार प्रभावित भएका छन् । हावाहुरीका दुई सय ७३ घटना रेकर्ड हुँदा आठको मृत्यु भएको छ ।

कूल ३९ जना घाइते हुँदा पाँच सय ३१ परिवार हावाहुरीका कारण प्रभावित भएका छन् । सो अवधिमा ६३ वटा सर्पदंशको घटना घटेका छन् । सर्पदंशका कारण पाँच जनाको मृत्यु भएको छ भने ६४ घाइते भएका छन् । ७० परिवार प्रभावित बनेका छन् ।

देशभर बाढीको एक सय ३७ घटना रेकर्ड भएका छन् । त्यसबाट १३ जनाको मृत्यु हुनुका साथै एक हजार दुई सय ४६ परिवार प्रभावित भएका छन् । बाढीमा परेर २० जना बेपत्ता भएका छन् ।

पहिरोका एक सय ८३ वटा घटना रेकर्ड भएको छ । पहिरोमा परेर सात जनाको मृत्यु हुँदा नौ जना घाइते भएका छन् । कूल एक सय ९९ परिवार प्रभावित भएका छन् ।

सो अवधिमा देशभर दुई सय २४ पटक परेको चट्याङबाट २८ जनाको निधन भएको छ । एक सय ६० जना घाइते हुँदा दुई सय ६० परिवार प्रभावित भएका छन् । लेक लागेर ११ जना, जनावरको आक्रमणमा परेर १२ जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस