२०८३ भाद्र ३१ गते बुधवार

मानव अधिकार सम्बन्धी संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा दाङकी टीका डाँगी

दाङ । नेपाल मानव अधिकार संगठनकी केन्द्रीय कोषाध्यक्ष तथा दाङकी टीका डाँगी मानव अधिकारसम्बन्धी संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा नियुक्त हुनुभएको छ ।

नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौं अन्तर्गत मानव अधिकार तथा अन्तर्राष्ट्रिय सन्धि सम्झौता महाशाखाले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना आ.व. २०८३/०८४–२०८७/०८८ मा उल्लेखित क्रियाकलापहरूको कार्यान्वयन सुनिश्चितताका लागि कार्ययोजनाको ४.२.१ मा रहेको प्रावधान बमोजिम डाँगीलाई संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा तोकेको हो। नेपाल सरकारको यहि भदौ २६ गतेको निर्णयअनुसार उहाँलाई उक्त जिम्मेवारी प्रदान गरिएको जनाइएको छ।

हाल संघीय समन्वय समितिमा नेपाल सरकारका मुख्य सचिवलगायत विभिन्न निकायका प्रमुख तथा प्रतिनिधिहरू सम्मिलित १२ सदस्यीय कार्यसमिति गठन गरिएको छ। मानव अधिकारको संरक्षण, प्रवद्र्धन तथा राष्ट्रिय कार्ययोजनामा उल्लेखित कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनमा समितिले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ।

दाङकी चेलीका रूपमा परिचित डाँगी विभिन्न समयमा विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध रही सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ। उहाँले मानव अधिकार, सामाजिक सेवा तथा नागरिकका सवालमा निरन्तर काम गर्दै आउनुभएको छ।

हाल नेपाल मानव अधिकार संगठनको केन्द्रीय कोषाध्यक्षको जिम्मेवारीमा रहनुभएकी डाँगीको संघीय समन्वय समितिको प्रतिनिधि सदस्यमा नियुक्तिले मानव अधिकार तथा सामाजिक क्षेत्रमा उहाँले गर्दै आउनुभएको योगदानलाई थप संस्थागत रूपमा अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।

दाङबाट राष्ट्रिय तहमा सामाजिक तथा मानव अधिकारको क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएकी डाँगीको यो जिम्मेवारीलाई जिल्लाका लागि समेत महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस