दाङ । दाङ जिल्लाभर खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको खानेपानीको शुद्धता परीक्षण तथा गुणस्तरसम्बन्धी तथ्यांक संकलन गर्ने कार्य सुरु गरिएको छ।
राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीको पहलमा संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना, नेपालगञ्जअन्तर्गतको गुणस्तर शाखाका प्रमुख रवि किरण आचार्यसहितको टोलीले दाङका विभिन्न खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमुना संकलन सुरु गरेको हो।

आज मंगलबार बबई गाउँपालिका र शान्तिनगर गाउँपालिकाअन्तर्गत रहेका खानेपानी उपभोक्ता संस्थामा पुगेर मुहानदेखि उपभोक्ताको धारासम्म वितरण हुने पानीको नमुना फिल्डमै संकलन गरिएको छ ।
अध्यक्ष ओलीका अनुसार दाङ जिल्लाका १० वटै पालिकाभित्र रहेका खानेपानी उपभोक्ता संस्थाबाट पानीको नमुना संकलन गरी जिल्लाको समग्र खानेपानीको गुणस्तरसम्बन्धी प्रतिवेदन तयार गरिनेछ। उक्त प्रतिवेदन सम्बन्धित विभाग तथा मन्त्रालयमा पठाई दाङ जिल्लाको खानेपानी शुद्धीकरण तथा गुणस्तर सुधारका लागि आवश्यक योजना निर्माण र बजेट विनियोजनका लागि पहल गरिनेछ।
संघीय खानेपानी नेपालगञ्जका प्रमुख जगतनाथ दासले खानेपानीको शुद्धता कायम गर्नु राज्यको महत्वपूर्ण दायित्व भएको बताउँदै यस अभियानको सुरुवातका लागि राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघलाई धन्यवाद दिनुभयो ।
उहाँले दाङ जिल्लामा खानेपानीको शुद्धता परीक्षणलाई अभियानका रूपमा अघि बढाउनु महत्वपूर्ण कार्य भएको उल्लेख गर्दै यसबाट जिल्लाको खानेपानीको वास्तविक अवस्था पहिचान गर्न सहयोग पुग्ने बताउनुभयो ।
त्यस्तै, गुणस्तर शाखाका प्रमुख रवि किरण आचार्यले जिल्लाभरका खानेपानी उपभोक्ता संस्थामा पुगेर पानीको नमुना संकलन गरिने बताउनुभयो । संकलित नमुनाको परीक्षणपछि दाङ जिल्लामा वितरण भइरहेको खानेपानीको गुणस्तर कस्तो छ भन्ने तथ्यांक प्राप्त हुने र नागरिकले धाराबाटै सिधै पिउन सक्ने गुणस्तरीय पानी उपलब्ध गराउने दिशामा आवश्यक काम अघि बढाइने उनको भनाइ छ।
राष्ट्रिय साना शहरी खानेपानी उपभोक्ता महासंघका अध्यक्ष खेमराज ओलीले दाङबाट सुरु गरिएको यो अभियानलाई देशभर विस्तार गर्ने लक्ष्य रहेको बताउनुभयो ।
“सरकारलाई सहयोग गर्दै आम नागरिकलाई स्वच्छ, सफा र शुद्ध खानेपानी उपलब्ध गराउनु हाम्रो पनि दायित्व हो,” अध्यक्ष ओलीले भन्नुभयो । उहाँले खानेपानी उपभोक्ता संस्थाहरूको सहकार्यमा देशभर खानेपानीको गुणस्तर परीक्षण तथा सुधार अभियान सञ्चालन गरिने जानकारी दिनुभयो ।

दाङबाट सुरु गरिएको नमुना संकलन अभियानले जिल्लाका खानेपानी संस्थाको मुहानदेखि धारासम्मको पानीको गुणस्तरको वास्तविक अवस्था पहिचान गरी आगामी दिनमा खानेपानी सुधारका लागि आवश्यक योजना र बजेट निर्माणमा आधार तयार गर्ने अपेक्षा गरिएको छ ।

























