२०८२ माघ ५ गते सोमवार

सुकौराकोट दरबारको सम्भाव्यता, संरक्षण र विकासका लागि छलफल

तुलसीपुर । थारु राजा दंगिशरण सुकौराकोट दरबारको सम्भाव्यता, संरक्षण र संरचना विकासका लागि दाङमा छलफल कार्यक्रम भएको छ ।

थारु कल्याणकारिणी सभा क्षेत्र नंम्बर ३ दाङ र तुलसीपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा थारु अगुवा, बुद्धिजीवी, योजनाकार, स्थानीय जनप्रतिनिधि र सरोकारवालाहरुसंग सुकौराकोटको सभ्यता विकास निर्माण सम्बन्धमा छलफल कार्यक्रम भएको हो ।

कार्यक्रममा सहभागीहरुले थारु राजा दंगिशरण सुकौराकोट दरबार थारुहरुको इतिहास बोकेको ठाँउ रहेकाले सबै एकजुट भएर संरक्षण गर्नुपर्नेमा जोड दिएका थिए । सुकौराकोट दरबार केवल संरचना मात्र नभई थारु समुदायको गौरव र नेपाली सभ्यताको प्रमाण भएकाले यसलाई राजनीतिक पहुँचभन्दा बाहिर राखी सांस्कृतिक, ऐतिहासिक र पर्यटकिय दृष्टिकोणले संरक्षण गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले सुकौराकोट दरबार थारु सभ्यताको ऐतिहासिक प्रतीक भएको बताउँदै दंगिशरण राजाको नामबाटै दाङको नाम रहन गएको बताउनुभयो । उहाँले दरबार संरक्षण गर्न नसकेमा थारु समुदायको इतिहास नै हराउने बताउँदै यसको संरक्षणमा सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । साथै उहाँले सुकौराकोट दरबार निर्काणका लागि बजेटको अभाव नहुने प्रतिबद्धता पनि जनाउनुभयो ।

सुकौराकोट दरबारको विकासमा ढिलाइ हुँदा गत वर्र्ष २ करोड बजेट फ्रिज भएको जानकारी दिनुभयो । उहाँले सुकौराकोट दरबार निर्माणका लागि चालु वर्षमा केन्द्रबाट २ करोड र प्रदेश सरकारबाट १ करोड गरी कुल ३ करोड बजेट विनियोजन भइसकेको बताउनुभयो । दरबार निर्माणको डिपिआर बनाउँदा दरबार राजा बस्ने जीवनशैली, इतिहास र संस्कृति समेटिनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका–११ का अध्यक्ष मानबहादुर रावतले सुकौराकोट दरबार अहिले भग्नावशेषको रुपमा रहेको बताउनुभयो । संरचना निर्माणका लागि वडा र स्थानीय सरकारले पहल गरे पनि जग्गा भोगाधिकारको अभावमा काम अघि बढ्न नसकेको बताउनुभयो ।

लुम्बिनी प्रदेश योजना आयोगका सदस्य भुवन चौधरीले सुकौराकोटको संरक्षणको अब कार्यविधि बनाएर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले सुकौराकोटलाई राजनीतिक रुपमा नभई ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक दृष्टिकोणले हेरिनुपर्नेमा जोड दिनुभयो ।

डाक्टर जर्मन चौधरीले सुकौराकोट दरबारको पुनरुत्थान नजिक आएको बताउनुभयो । थारु सभ्यताको पहिचान बोकेको यो ठाउँ पर्यटन विकासको मुख्य आधार बन्ने उहाँको भनाई छ । थारु कल्याणकारिणी सभाका केन्द्रीय कोषाध्यक्ष चुर्ण बहादुर चौधरीले सुकौराकोटलाई सभ्यताको प्रतीकका रूपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । थारु संस्कृतिविद् अशोक थारुले सुकौराकोटमा पुरातत्व विभागका प्रतिनिधि तथा अनुसन्धानकर्तासँग सहकार्यको खाँचो रहेको बताउनुभयो ।

कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका– १२ का अध्यक्ष खुशीराम चौधरी, दंगिशरण गाउँपालिका– ३ का अध्यक्ष सुकलाल चौधरी, दंगिशरण गाँउपालिकाका पूर्व अध्यक्ष भागीराम चौधरी, लुम्बिनी प्रदेश योजना आयोगका पूर्व उपाध्यक्ष डा. नहकुल केसी, अधिवक्ता श्रीराम चौधरी, रोहित थारु, कालुराम चौधरीलगायतले थारु सभ्यताको संरक्षणमा राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको उद्देश्यबारे जानकारी गराउँदै तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिनिल केसीले सुकौराकोटको संरक्षण र विकासमा निजी क्षेत्रको चासो पर्याप्त नभएको बताउँदै संघ यसको संरक्षणमा सक्रिय रहेको बताउनुभयो ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष केसीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रमको सहजिकरण तुलसीपुर उद्योग वाणिजय संघका प्रेस सल्लाहाकार शरद रेग्मीले गर्नुभएको हो ।

यसैबिच थारु राजा दंगिशरण सुकौराकोट दरबार संरक्षण तथा विकास समिति गठन गरिएको छ । जनकुलाल चौधरीको अध्यक्षतामा नौ सदस्यीय समिति गठन गरीएको हो । सदस्यमा आशा चौधरी, दिप्ती शिखा चौधरी, लोकराज चौधरी, बिनिल केसी, रामशरण चौधरी, केवलापति चौधरी, गोपिलाल चौधरी र सत्यनारायण चौधरी रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस