२०८३ साउन ११ गते सोमवार

दाङमा चार अर्ब ९९ करोड ८७ लाख राजस्व संकलन


दाङ । दाङमा एक बर्षको अवधिमा चार अर्ब ९९ करोड ८७ लाख रुपियाँ राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०८२/०८३ मा संघीय र प्रदेशअन्तर्गत विभिन्न कार्यालयबाट चार अर्ब ९९ करोड ८७ लाख ७१ हजार ४४८ रुपियाँ राजस्व संकलन भएको हो ।

जसमा ४२ संघीय कार्यालयबाट चार अर्ब पाँच करोड १९ लाख ४४ हजार १७१ रुपियाँ र प्रदेश सरकारअन्तर्गतका २२ वटा कार्यालयबाट ९४ करोड ६८ लाख २७ हजार २७६ रुपियाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख कोष नियन्त्रक मोहन जैसवालले जानकारी दिनुभएको छ ।

आर्थिक वर्ष २०८१/०८२ मा दाङमा पाँच अर्ब ५४ करोड ९५ लाख ९२ हजार ३९३ रुपियाँ राजस्व संकलन भएको थियो । त्यसमध्ये संघीय कार्यालयबाट चार अर्ब ६७ करोड ३१ लाख ५५ हजार १७ रुपियाँ र प्रदेशअन्तर्गतका विभिन्न कार्यालयबाट ८७ करोड ६४ लाख ३७ हजार ३७५ रुपियाँ राजस्व संकलन भएको थियो ।

प्रमुख कोष नियन्त्रक जैसवालका अनुसार सरकारले सेवा प्रवाहवापत लिने दस्तुर, जरिवाना तथा भन्सार, मालपोत, यातायातलगायतका विभिन्न शीर्षकबाट राजस्व संकलन गर्दै आएको छ । जिल्लामा आर्थिक वर्ष २०८२/०८३ मा संघीय कार्यालयअन्तर्गत आन्तरिक राजस्व कार्यालय तुलसीपुरबाट सबैभन्दा बढी तीन अर्ब ६९ करोड ३८ लाख ३९ हजार ३६८ रुपियाँ राजस्व संकलन भएको छ ।

त्यसैगरी जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयबाट नौ करोड ९० लाख ६७ हजार ९७३ रुपियाँ, जिल्ला तथा उच्च अदालतबाट तीन करोड आठ लाख चार हजार ६५४ रुपियाँ, कोइलाबास भन्सार कार्यालयबाट दुई करोड चार लाख ७१ हजार ७६७ रुपियाँ, शिक्षा विकास तथा समन्वय इकाईबाट एक करोड ६९ लाख आठ हजार २३ रुपियाँ संकलन भएको छ ।

त्यसैगरी जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट एक करोड ५३ लाख ८० हजार पाँच सय रुपियाँ, नापी कार्यालयबाट एक करोड एक लाख ४७ हजार १८९ रुपियाँ, सघन सहरी तथा भवन निर्माण आयोजनाबाट ७५ लाख ३२ हजार ९१८ रुपियाँ, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट ३८ लाख २४ हजार ५२३ रुपियाँ संकलन भएको छ ।

सडक डिभिजनबाट २९ लाख ५६ हजार ७६३ रुपियाँ, यान्त्रिक कार्यालयबाट २५ लाख ९३ हजार छ सय रुपियाँ, हुलाक निर्देशनालयबाट २४ लाख १३ हजार ८३९ रुपियाँ र बृहत् दाङ उपत्यका सिंचाई आयोजनाबाट १४ लाख ३१ हजार ८२२ रुपियाँ राजश्व संकलन भएको कार्यालयले जनाएको छ ।

त्यसैगरी प्रदेश सरकारअन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयबाट ५६ करोड एक लाख एक हजार ८०७ रुपियाँ, प्रदेश लेखा इकाई कार्यालयबाट २८ करोड ३८ लाख ३८ हजार ६३० रुपियाँ, डिभिजन वन कार्यालयबाट पाँच करोड १६ लाख ६४ हजार ३४० रुपियाँ, सहरी विकास तथा भवन कार्यालयबाट दुई करोड ३१ लाख ९४ हजार ३६९ रुपियाँ संकलन भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयबाट एक करोड ८२ लाख १० हजार ४४८ रुपियाँ, पूर्वाधार विकास कार्यालयबाट ४६ लाख ६४ हजार २९८ रुपियाँ, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयबाट १४ लाख १५ हजार ५४७ रुपियाँ, सामाजिक विकास कार्यालयबाट आठ लाख ६५ हजार रुपियाँ, भू तथा जलाधार व्यवस्थापन कार्यालयबाट छ लाख ६० हजार ८३४ रुपियाँ संकलन भएको छ ।

खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट पाँच लाख ८१ हजार रुपियाँ, स्वास्थ्य कार्यालयबाट पाँच लाख १२ हजार ४९२ रुपियाँ, राप्ती प्रादेशिक अस्पतालबाट तीन लाख २७ हजार सात रुपियाँ, लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट तीन लाख ३२ हजार ३०५ रुपियाँ र भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट दुई लाख ९६ हजार ५३६ रुपियाँ राजस्व संकलन भएको कोष तथा लेखा नियन्त्रक कार्यालयले जनाएको छ ।

कोष तथा लेखा नियन्त्रक कार्यालय दाङका प्रमुख जैसवालका अनुसार अघिल्लो बर्षको तुलनामा गतआर्थिक बर्षमा ५५ करोड आठ लाख २० हजार ९४५ रुपियाँ कम राजस्व संकलन भएको बताउनुभयो ।

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस