घोराही । बुद्ध ईन्टरनेशनल हस्पिटल प्रा.लि., घोराही–१५ दाङ र नेपाल चार्टर्ड एकाउन्टेण्ट्स संघ (ACAN) दाङबीच आपसी सहकार्यमा स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।
विहिवार भएको सम्झौता अनुसार अबदेखि संघका सबै सदस्यहरूलाई बुद्ध ईन्टरनेशनल हस्पिटलबाट प्रदान गरिने विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत सम्म छुट दिइनेछ भने औषधि (फार्मेसी) खरिदमा ७ प्रतिशत छुट उपलब्ध गराइने हस्पिटलका प्रमुख कार्यकारी अधिकृत बालाराम शर्माले जानकारी दिनुभयो ।
सम्झौतापत्रमा हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बालाराम शर्मा र संघका तर्फबाट अध्यक्ष सिए कैलाश खत्रीले हस्ताक्षर गर्नुभएको छ । सम्झौता अनुसार सदस्यहरूले इनपेशेन्ट तथा आउटपेशेन्ट सेवा, आकस्मिक सेवा, प्रयोगशालासम्बन्धी परीक्षण, सर्जरी तथा अन्य उपचार सेवाहरूमा छुट प्राप्त गर्न सक्ने हस्पिटलले जनाएको छ ।
छुट प्राप्त गर्नको लागि सम्बन्धित सदस्यले आफ्नो परिचयपत्र तथा सोको प्रतिलिपि अनिवार्य रूपमा पेस गर्नुपर्नेछ । उक्त छुट अन्य छुट योजनासँग जोड्न नपाइने र तेस्रो पक्षद्वारा लाग्ने शुल्क (जस्तै बाह्य प्रयोगशाला सेवाहरू) छुटमा नपर्ने उल्लेख छ ।
साथै, दुबै पक्षले सम्झौताको गोपनीयता कायम राख्ने र स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मेवारी सेवा लिने व्यक्तिको हुने स्पष्ट गरिएको छ । यस सम्झौताबाट चार्टर्ड एकाउन्टेण्ट्स संघका सदस्यहरूले स्थानीय स्तरमै गुणस्तरीय र सुलभ दरमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने आशा गरिएको छ ।









