दाङ । दाङमा बितेको एक महिनामा नागरिकता बनाउने भन्दा पासपोर्ट बनाउने धेरै रहेका छन् । जिल्ला प्रशासन कार्यालय दाङले सार्वजनिक गरेको विवरण अनुसार असार महिनामा १ हजार ७२८ जनाले नागरिकता बनाएका छन् भने १ हजार ८६३ जनाले पासपोर्ट बनाएका छन् ।
असार महिनामा नागरिकता बनाउने भन्दा पासपोर्ट बनाउने १३५ जना बढी रहेका छन् । कार्यालयका अनुसार जिल्ला प्रशासन कार्यालय घोराहीबाट ६६४ जना, ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट ८६२ जना र ईलाका प्रशासन कार्यालय लमहीबाट ३३७ जनाले पासपोर्ट बनाएका छन् ।
रोजगारी तथा उच्च शिक्षा अध्ययनका लागि विदेश जाने क्रम बढ्दै गएपछि पासपोर्ट बनाउनेको संख्या बढ्दै गएको हो । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञ बहादुर बुढाका अनुसार दाङमा गएको असार महिनामा १ हजार ८ सय १७ जनाले पासपोर्ट बनाउनका लागि आवेदन दर्ता गराएका छन् ।
यस्तै दाङमा बितेको असार महिनामा ७ हजार ४५ जनाले राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिएका छन् । घोराहीबाट २ हजार ६०५, तुलसीपुरबाट २ हजार ८९९ र लमहीबाट १ हजार ५४१ जनाले आवेदन दिएका छन् ।















