दाङ । बालबालिकाको सुन्दर भविष्य निर्माणका लागि घरपरिवार र अभिभावकले असल संस्कारको वातावरणको निर्माण गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
तुलसीपुर–७ रामनगरटोलमा भएको कार्यक्रममा सहभागीहरुले घर परिवार र अभिभावकको असल संस्कारले बालबालिकाको चरित्र असल निर्माण हुने बताएका छन् ।
कार्यक्रममा रामनगर टोल विकास संस्थाका अध्यक्ष खेमराज विश्वकर्माले घरपरिवार, बालबालिका र विद्यालयको त्रिकोणात्मक सम्बन्धले असल र नैतिकवान जनशक्ति उत्पादन गर्न सकिने बताउनुभयो । उहाँले बालबालिकालाई असल मार्गमा लैजानका लागि विद्यालयमात्रै नभएर घरपरिवार अर्थात अभिभावकको भूमिका पनि महत्वपूर्ण हुने बताउनुभयो ।
यस्तै टोल विकास संस्थाका उपाध्यक्ष प्रेमा विश्वकर्माले घरपरिवारकै कारण बालबालिकाको बानी व्यवहार निर्माण हुने भएकाले अभिभावकले बालबालिकालाई समय दिनुपर्ने बताउनुभयो ।
रामनगर टोल विकास संस्थाका पूर्व अध्यक्ष रोशन वलीले टोललाई लागूपदार्थ दुर्व्यसनमुक्त बनाउन आफुहरु निरन्तर लागिरहेको बताउनुभयो । उहाँले आफू व्यवसायी भएका कारण कतिपय अभिभावकले छोराछोरीलाई चुरोट, सुर्तिजस्ता पदार्थ किन्न पठाउने गरेको र जुन कुरा गलत भएकाले ति बालबालिकालाई सुर्तिजन्य पदार्थ बिक्रि नगर्ने बताउनुभयो ।
दाङ भ्याली मावि तुलसीपुरको समन्वयमा रेडियो हाम्रो पहुँचले उत्पादन तथा प्रशारण गर्ने कार्यक्रम सुनौलो भविष्य शुक्रबार रामनगर टोलमा उत्पादन गरिएको हो । कार्यक्रममा दाङ भ्याली मावि तुलसीपुरका अध्यक्ष तिलक शाहुले अधिकांशले भौतिक विकासलाई जोड दिने गरेपनि बालबालिकाको सवाललाई कम सुन्ने गरेको बताउनुभयो । उहाँले बालबालिकालाई निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने कुरामा जोड दिनुभयो ।
यस्तै योग साधनाका अध्यक्ष दिलमाया विश्वकर्मा, महिला स्वास्थ्य स्वंयसेवीका पुष्पा स्वर्णकार घरपरिवारकै कारण बालबालिकाको बानी व्यवहार निर्माण हुने भएकाले घरमा बालबालिकालाई संस्कार दिनुपर्ने बताउनुभयो ।









