दाङ, २० साउन ।
पहिरोका कारण अवरुद्ध बनेको राप्ती राजमार्गको दाङ–सल्यान सडकमा सवारीसाधन संचालनमा आएका छन् । दाङ र सल्यानको सिमाना नजिकै खसेको पहिरो हटाएपछि अवरुद्ध सडक संचालनमा आएको हो ।
लगातारको वर्षापछि आएको पहिरोले मंगलबार बिहान ५ बजेदेखि अवरुद्ध बनेको सडक दिउँसो ३ बजेपछि संचालनमा आएको कपुरकोट गाउँपालिकाका उपाध्यक्ष प्रकाश भण्डारीले जानकारी दिनुभयो ।
पहिरो हटाएसंगै रोकिएका गाडीहरु गन्तव्यतर्फ लागेका छन् । तर तत्कालका लागि पहिरो हटाएपनि फेरि अवरुद्ध हुने जोखिम कायमै रहेकोले बुझेरमात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।
पटक–पटक खसिरहने पहिरोको कारण दाङ– सल्यान सडकको यात्रा सधैँ सास्ती हुने गरेको छ । यसअघि सोमबार पनि सोहि ठाउँमै खसेको पहिरोले सवारी आवागमन रोकिएको थियो ।















