दाङ । तुलसीपुर उपमहानगरपालिकामा अपाङगता भएका व्यक्तिहरुका लागि उपलब्ध गराउने सहायता सामग्रिमा अनियमितता भएको छ ।
पालिकाले आर्थिक वर्ष २०८०/८१ मा अपाङगता भएका व्यक्तिहरुका लागि कृतिम हातखुट्टा तथा सहायक सामग्रि वितरणका लागि ८ लाख रुपैया विनियोजन गरेको थियो ।
बिनियोजित रकमबाट कृतिम हातखुट्टा तथा सहायक सामग्रि खरिदका लागि पालिकाले दरभाउ आब्हान गरेको थियो । त्यसमा तीन वटा संस्थाले दरभाउ पत्र आवेदन गरेका थिए ।
तीनमध्ये विकलाङ्ग मित्र समूह/अपाङग बाल अस्पताल तथा पुनस्थापना केन्द्र (एचआरडिसी) बनेपाले सो सामग्रि उपलब्ध गराउने अनुमति पाएको थियो ।
सहायक सामग्रिका लागि पहिलो चरणमा ६२ जना अपाङगता भएका व्यक्ति जाँचमा सहभागि भएका थिए । जसमध्ये बढी समस्या देखिएका २० जनालाई सामग्री उपलब्ध गराउनुपर्ने भएपछि सोही अनुसार एचआरडिसी संस्थासंग सम्झौता भएको थियो ।
तर संस्थाले भने अनुसारको सामग्री उपलब्ध नगराउँदै नक्कली फाइल खडा गरी किर्ते हस्ताक्षर गरेर भुक्तानी लिएको पाइएको छ ।
यसरी तयार गरियो नक्कली फाइल
तुलसीपुर उपमहानगरपालिकाको कार्यक्रम भएपनि स्थानीयस्तरमा समन्वयका लागि अपाङग समाज सुधार केन्द्रलाई सहायता सामग्री उपलब्ध गराउने संस्था एचआरडिसीले समन्वयकर्ताको रुपमा छनोट गरेको थियो ।

त्यसपछि पालिकासंग मिलेर अपाङगता भएका व्यक्तिहरुको सहायक सामग्रीको नापजाँच तथा ट्रयाल फिटिङको कार्यक्रम आयोजना गर्नुपर्ने थियो । तर भने अनुसार कार्यक्रम नै नगरी २०८१ जेठ २४ गते भरपाइ गरी एक जनालाई निःशुल्कसहित २० जनालाई सामग्री वितरण गरेको देखिएको छ ।

विवरण अनुसार ६ जनाले सामग्री नै पाएका छैनन् । जसमा तुलसीपुर–३ का प्रकाश न्यौपाने र तुलसीपुर–१३ का पोषण न्यौपानेको हस्ताक्षर किर्ते गरेको पाइएको छ ।
यस्तै तुलसीपुर–१३ का बामदेव नेपाली, तुलसीपुर–७ का प्रमित चौधरी, तुलसीपुर–१९ का गिता बुढाले पनि हालसम्म सामग्री पाएका छैनन् । यसरी हेर्दा सामाग्री नपाएकै अवस्थामा सामग्री पाएको भनि भुक्तानी भएको देखिएको छ ।

२०८१ जेठ २४ मा कार्यक्रम नगरेरै नक्कली भरपाई तयार गरी तुलसीपुर उपमहानगरपालिकाको जनस्वास्थ्य प्रबद्र्धन शाखामा अपाङग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक हुमकान्त कँडेलले कागजात पेश गर्नुभएको थियो ।
त्यसको ठिक एक महिनापछि २०८१ असार २४ मा जनस्वास्थ्य शाखा प्रमुख ओमप्रकाश न्यौपाने (ओम पि न्यौपाने)ले पालिकाबाट सोही कागजात पेश गरी ७ लाख ८० हजार रुपैंया पेश्की लिएको देखिएको छ । सामान्यतया नीति अनुसार कार्यक्रम गर्नुपूर्व बजेट अनुमान गरी पेश्कि लिनुपर्ने हुन्छ तर त्यसो नगरी किर्ते कार्यक्रम सम्पन्न भएको एक महिनापछि पेश्कि लिनु कानुन विपरित हो ।
शाखा प्रमुख न्यौपानले पेश्किस्वरुप लिएको उक्त रकम नौ महिनासम्म व्यक्तिगत खातामा राखेको र नौं महिनापछि २०८१ फागुन ६ गते मात्रै सम्बन्धित संस्था एचआरडिसीलाई भुक्तानी गरेको देखिन्छ ।
शाखा प्रमुख न्यौपानेले २०८० जेठ २४ मा नापजाँचको कार्यक्रम भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘त्यस दिन सामग्री हस्तान्तरण कार्यक्रम भएको होइन्, साथीहरुले भरपाइमा त्यस्तो व्यहोरा उल्लेख गर्नुभएको हुन सक्छ ।’
आफुलाई यो क्षेत्रमा विज्ञता नभएकोले समस्या आएको उहाँले स्विकार गर्नुभयो । पालिकासंग सहकार्य गरेर काम गरीरहेको संस्थाका कार्यक्रम संयोजकले किर्ते हस्ताक्षर गरेर कागजात बुझाएको बारेमा आफुले जानकारी पाएपछि पालिका प्रमुख र प्रमुख प्रशासकिय अधिकृतलाई जानकारी गराएको बताउनुभयो ।
अपाङग समाज सुधार केन्द्र तुलसीपुरका कार्यक्रम संयोजक कँडेलले आफुले किर्ते गरेको कुरा रेडियो हाम्रो पहुँचसंग स्विकार गर्नुभएको छ । ‘मैले किर्ते गरेर गल्ती गरे, यस्तो नगर्नुपर्ने रहेछ ।’ उहाँले भन्नुभयो– ‘मानवियताकोे हिसाबले कोही पनि अपाङगता भएका साथीहरु यो सामग्री लिन नछुटुन भनेर आफैले हस्ताक्षर गरेको हुँ ।’

कँडेलले साथीहरुलाई फोन गर्दा सम्पर्क हुन नसकेपछि आफुले नै हस्ताक्षर गरेर फाइल पठाएको स्विकार गर्नुभयो । पालिकाको जनस्वास्थ्य प्रवद्र्धन शाखाले २० जनाको सहायता सामग्रिवाफतको करसहित ५ लाख ४५ हजार ८ सय एचारडिसी संस्थालाई भुक्तानी गरेको छ ।
तर सहायता सामग्रि पाएका भनिएका ६ जना व्यक्तिले नपाएको बताएका छन् । यद्यपी अपांग समाज सुधार केन्द्रका कार्यक्रम संयोजक कँडेलले चार जनाले मात्र १ लाख ८० हजार बराबरको सामग्रि नपाएको दावि गर्नुभएको छ ।
एचआरडिसी बनेपाले पनि सामग्रि नै नदिएर भुक्तानी लिएको देखिनु, सम्बन्धित व्यक्तिले सामग्रि नपाउनु, केहि व्यक्तिका नाममा किर्ते हस्ताक्षर हुनु, जनस्वास्थ्य प्रवद्र्धन शाखाले सामग्रि नै रुजु नगरेर भुक्तानी गर्नुले आर्थिक अनियमितता भएको स्पष्ट देखिएको छ । यसमा तीन पक्षबिच नै मिलेमतो रहेको देखिएको छ ।
















