२०८३ कार्तिक ६ गते शुक्रवार

दशैँको टिका थाप्न गएका बावु–छोरोको मोटरसाइकल दुर्घटनामा परी मृत्यु


अर्घाखाँची । अर्घाखाँचीमा दसैंको टीका थाप्न जाँदै गरेका बाबु–छोराको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ ।

भूमिकास्थान नगरपालिका–८ का ६२ वर्षीय देविराम आचार्य र उहाँका २३ वर्षीय छोरा विवेक आचार्यको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी दिवस जिसीले बताउनुभयो ।

उहाँका अनुसार विवेक परिवारका एक्ला छोरा हुनुहुन्छ । देविरामका तीन छोरीहरू विदेशमा छन् ।

घरमा टीका थापेर मावली ससुराली भूमिकास्थान–२ भूमेकाथानतर्फ टीका थाप्न जाँदै गरेका बाबु–छोरा सवार लु ६४ प ७४७१ नम्बरको मोटरसाइकल दुर्घटनाग्रस्त अवस्थामा बिहीबार बिहान फेला परेको हो ।

डिएसपी जिसीका अनुसार बाबु–छोरा सवार मोटरसाइकल बुधबार दिउँसो ३ बजेपछि दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनास्थल केही लामो ओरालो भए पनि कालोपत्रे बाटो छ । ओरालो बाटोमा मोटरसाइकल मुनी झरेको देखिएको छ ।

ओलारोमा मोटरसाइकल तीव्र गतिमा हुनसक्ने वा ब्रेक नलागेका कारण भीरबाट झन्डै ६० मिटर खसेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बाबु–छोराको शव नजिकै चार–पाँच मिटरको दुरीमा फेला परेको पनि प्रहरीले जनाएको छ । छोरा काठमाडौंमा अध्यनरत थिए भन्ने खुलेको प्रहरीले जनाएको छ । –सेतोपाटीबाट

    सम्बन्धित विषय:
प्रतिक्रिया दिनुहोस