तुलसीपुर, २१ साउन । तुलसीपुर उपमहानगरपालिका–६ मा डेंगी विरुद्ध सचेतना कार्यक्रम भएको छ ।
डेंगी फ्री नेपाल दाङका संयोजक शुभम देवकोटाको अध्यक्षता तथा वडा अध्यक्ष दुजमान भण्डारीको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष भण्डारीले वडाभित्र लामखुट्टेका बासस्थान पहिचान गरी टोल–टोलमा फुल, लार्भा तथा प्युपा नष्ट गर्न टोल विकास संस्थाहरुलाई आग्रह गरिएको बताउनुभयो । डेंगी नियन्त्रणका लागि टोल–टोलमा सरसफाइ अभियान सञ्चालन भइरहेको र वडाले नियमित रुपमा सरसफाइमा जोड दिएको उहाँले बताउनुभयो ।
कार्यक्रममा तुलसीपुर उपमहानगपालिकाका जनस्वास्थ्य निरिक्षक विमल केसीले डेंगी रोग, यसको लक्षण र बच्ने उपायबारे जानकारी गराउनुभएको हो । उहाँले लामखुट्टेको जीवनचक्र, संक्रमणको अवस्था र सामुदायिक भूमिकाका बारेमा प्रष्ट पार्नुभएको हो । पालिकाले प्रत्येक शुक्रबार डेंगीको रोकथामको कार्यक्रम गर्ने गरेको उहाँले जानकारी दिनुभयो
कार्यक्रममा सहभागीहरुले डेंगी नियन्त्रणका लागि एकआपसमा सहकार्य गर्दै वडालाई पूर्णरुपमा डेंगीमुक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रम सहजीकरण पालिका एड्भोकेट सुस्मा रानाले गर्नुभएको हो ।















